‘गगन थापाले सभापति देउवासँग ट्युनिङ मिल्छ भनेपछि देउवा पक्षका नेता सशंकित’
काठमाडाैं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई साथ दिँदै आएका ११ जना नेताले महामन्त्री गगन थापा हाबी हुन थालेको भन्दै आपत्ति जनाएका छन् ।
पार्टीले आधिकारिक रूपमा १५ औं महाधिवेशनको तयारी अगाडि बढाएको छैन । तर, महामन्त्री थापाले महाधिवेशन केन्द्रित अभियान अगाडि बढाउँदा पनि किन चुप लागेको भन्दै देउवापक्षीय नेताहरूले उनीमाथि प्रश्न उठाएका हुन् ।
सभापति देउवाको विश्वास जित्दै थापाले आगामी महाधिवेशन केन्द्रित अभियान अगाडि बढाएको आशंका गर्दै देउवा निकटका ११ नेता शुक्रबार बिहान बूढानीलकण्ठ पुगे ।
जसमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, नेताहरू कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा.शशांक कोइराला, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउँद र उमाकान्त चौधरी थिए । यसअघि अप्रत्यक्ष रूपमा शशांकले १३ औं र १४ औं महाधिवेशनमा देउवालाई सघाएका थिए । शुक्रबार औपचारिक रूपमा देउवा समूहमा खुल्दै शशांक पहिलोपटक बूढानीलकण्ठ पुगेका हुन् ।
छलफलमा उपसभापति पूर्णबहादुर खड्का ‘स्वर बसेको छ’ भन्दै केहीबेरमै बाहिरिएका थिए । उनी बाहिरिएलगत्तै नेता कृष्णप्रसाद सिटौला बोलेका थिए । उनले गत महाधिवेशनमा पनि सघाएको भन्दै १५ औं महाधिवेशनमा पनि एकढिक्का रहने देउवालाई विश्वास दिलाए । ‘पार्टीको कार्यक्रम र घोषणा एकातिर छ । तर, १५ औं महाधिवेशनबारे पदाधिकारीहरू एकातर्फ देश दौडाहामा आफैं लागेका छन्,’ गगनको नाम नलिई सिटौलाले भने, ‘पदाधिकारी र नेता विशेषले यसरी महाधिवेशन लक्षित कार्यक्रम अगाडि बढाउँदा तपाईंको धारणा के हो ?’
सिटौलाले गत महाधिवेशनमा देउवा अप्ठ्यारोमा पर्दा आफू, निधि र सिंहले समर्थन गरेको स्मरण गराउँदै आगामी महाधिवेशनमा समेत फेरि पनि देउवासँगै रहने बताएका थिए ।
‘हामी १४ औं महाधिवेशनमा तपाईंको टिमबाट लडेको हो, साथ दियौं । विमलेन्द्र निधि र प्रकाशमान सिंहले पनि सेकेण्ड राउन्डमा साथ दिनुभएको हो, तपाईंलाई साथ दियौं । त्यो बेलादेखि अहिलेसम्म तपाईंको साथमा छौं भन्न आएका हौं’, सिटौलाले बैठकमा भने, ‘हामीले समर्थन गरेरै जिताएका हौं । १५ औंमा पनि तपाईंसँगै रहन्छौं ।’ सिटौलाले देउवालाई अभिभावकत्व दिन माग गर्दै आफूहरू एकताबद्ध रहेको पनि बताए ।
‘शेखर र गगन सभापतिमा हाबी हुनुभएको जस्तो देखिन्छ । अरु कसैको चर्चा नै छैन जस्तो पारिएको छ । तर, त्यो होइन हामी पनि छौं । हामी सबै तपाईंसँग जोडिएका छौं । साथ दिएका छौं/दिन्छौं । तपाईं अब लड्नुहुन्न । तर, १५ औं महाधिवेशनमा तपाईंको अभिभावकत्व हामीलाई चाहिएको छ’, सिटौलाले भने, ‘विभिन्न पदमा हामी नेता विशेषको दाबी रहन्छ । तरपनि हामी एकठाउँमै छौं । सबैलाई एकताबद्ध गरेर जानुस् । हामी १५ औंमा पनि एक रहन्छौं ।’
यस्तो भनिरहँदा निधि, गच्छदार, सिंह, कोइरालासहितका नेताले सहमति जनाएको बैठकमा एक नेताले जानकारी दिए ।
जवाफमा देउवाले आगामी दिनमा अझै पार्टीलाई सक्षम बनाउन यो टिमको एकता आवश्यक भएको बताएका थिए । ‘तपाईंहरूले साथ दिँदै आउनुभएको छ । यो टिमलाई अझै महत्त्व छ’, देउवाले भनेका थिए, ‘महाधिवेशनको लागि समय छ । तर, जो–जो भए पनि तपाईंहरूसँग सल्लाह गरेर यही टिमबाट हुन्छ तपाईंहरू ढुक्क भएर अगाडि बढ्नुस् । बेला आएपछि गरौंला ।’
पछिल्लो समय महामन्त्री गगन थापाले सभापति देउवासँग ट्युनिङ मिल्छ भनेपछि देउवा पक्षका नेता सशंकित बन्दै आएको थिए । यतिमात्रै होइन, गगनले सहकारी ठगी प्रकरणमा लिएको अडान सही सावित हुँदै गएको भन्दै देउवाले उनको प्रशंसा समेत गरेका थिए ।
यसअघि एमसीसी, केही समय अगाडि बीआरआई, अध्यादेशलगायत सरकारका कामलाई सहज बनाउन गठन भएको कार्यदलस्तरमा गगन हाबी भएका थिए । यी सबै काममा गगनले सभापतिसँग निकट र विश्वासमा काम गरेपछि अन्य नेताहरू सशंकित भएका हुन् ।
१४ औं महाधिवेशनमा थापा शेखर टिमबाट महामन्त्री निर्वाचित भएका थिए । तर, महाधिवेशन लगत्तैदेखि उनको शेखरसँग सम्बन्ध चिसिँदै गएको छ । शेखरसँगै ४८ वर्षीय महामन्त्री थापाले पनि १५ औं महाधिवेशनमा सभापति लड्ने तयारी गरेका छन् । यस्तोमा देउवा पनि उनीप्रति नरम भए आफूहरूको राजनीति धरापमा पर्ने कांग्रेसका सबै सिनियर नेताको साझा बुझाइ छ । किनकी अबको दुई वर्षपछि हुने महाधिवेशनबाट गगन सभापति भए उनी जम्मा ५० वर्षका हुनेछन् । यस्तोमा उनीभन्दा सिनियर सबैजसो नेतालाई राजनीतिबाट स्वतः बाहिरिन दबाब पुग्नेछ । यसैले संस्थापन मात्रै होइन, इतरपक्षले समेत गगनलाई रोक्न चाहेको नेताहरू बताउँछन् ।
झन् थापाले देउवासँग ट्युनिङ मिलेको र महाधिवेशन समयमै हुने भनेपछि निकटका नेताहरू आफैं अग्रसर भएर शुक्रबार देउवा निवास पुगेका हुन् । शेखर र गगन एकातिर हाबी हुँदा आफ्नो पक्ष कमजोर बनेपछि सभापतिलाई सतर्क गराएको नेता गोपालमान श्रेष्ठले बताए ।
‘पार्टीमा हामी संस्थापन हौं । १० औंदेखि १४ औंसम्म मात्रै होइन १५ औंमा पनि हामी सभापतिसँगै रहन्छौं’, श्रेष्ठले भने, ‘अरु पक्षले मात्रै गतिविधि गर्दा हामी सुस्त भयौं । कसरी अगाडि बढ्ने सभापतिले पनि एउटा बाटो तय गर्नुपर्यो भनेर सतर्क गराउन गएका हौं ।’
घाँटी दुख्यो भन्दै उपसभापति पूर्णबहादुर खड्का भने आफ्ना कुरा राखेर एकछिनमै बाहिरिएका थिए । उनी नबाहिरिँदै नेता निधिले पोखरामा भएको प्रदेश तथा जिल्ला सभापतिको प्रशिक्षणमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्यलाई किन नबोलाइएको भन्दै आपत्ति जनाएका थिए । केहीदिन अगाडि पोखरामा कांग्रेसका प्रदेश र जिल्ला सभापतिहरूको प्रशिक्षण कार्यक्रममा भएको थियो ।
‘पोखराको कार्यक्रममा हामीलाई जानकारी नै गराइएन । म आफैं र रामचन्द्र दाइ उपसभापति हुँदा सबैले निमन्त्रणा पाउँथे । तर, अहिले पाएनन् । अब फागुन १९ गते भैरहवामा हुने कार्यक्रममा यस्तो नहोस्’, निधिले भने, ‘सभापतिजी पार्टीभित्र एकता हुनुपर्छ भन्नुहुन्छ । यसरी कसरी एकता होला ?’
निधिले आपत्ति जनाए लगत्तै देउवाले खड्कालाई पोखरामा किन यस्तो गरेको भन्दै भैरहवामा हुने कार्यक्रममा सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाउन भनेका थिए ।
नेता सिटौलाले महाधिवेशनको तयारीको सट्टा पदाधिकारी नै गुटबन्दीमा लागेको भन्दै आपत्ति जनाए ।
‘आगामी महाधिवेशन चार वर्षमा गर्नुपर्ने हो । तर, चार वर्षसम्म पुग्दा महाधिवेशनको लक्ष्य अनुसारको तयारी देखिँदैन’, सिटौलाले भने, ‘सचिवालयले तयारी गरेको छैन । क्रियाशील सदस्यता ३० प्रतिशत पनि टुंगिएको छैन । तर, कांग्रेस एक हुनुपर्नेमा पदाधिकारीहरू गुटबन्दीमा लागेका छन् । यो अनुचित छ ।’
प्रतिक्रिया