सर्लाहीको ईश्वरपुर नगरपालिका ९ मा भूकम्प प्रतिरोधी भवनको निर्माण कार्य शुरु

  नेपाली सन्देश डट कम | ४ माघ २०८१, शुक्रबार १७:५१

सर्लाही । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ९ स्थित ईश्वरपुर बेला मा.वि. रामनगर मनहर्वामा नयाँ आठ कोठे भूकम्प प्रतिरोधी भवनको निर्माण कार्य आजबाट आधिकारिक रूपमा सुरु गरिएको छ। भवन शिलान्यास समारोहमा प्रमुख अतिथि नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य चन्दा चौधरी र ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य, उप प्रमुख रन्जिता देवी चौधरी लगायतका अन्य जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
शिलान्यास कार्यक्रममा प्रतिनिधि सभा सदस्य चौधरीले शिक्षा क्षेत्रमा भएका सुधारका प्रयासहरूको चर्चा गर्दै भन्नुभयो यस नयाँ भवन निर्माणले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सुविधा र शिक्षाको गुणस्तरमा सुधार ल्याउनेछ। उनले भने म व्यक्तिगत रूपमा शिक्षाका क्षेत्रमा योगदान पुर्याउन सधैं तत्पर छु र यस परियोजनाले विद्यालयमा अधिक विद्यार्थीलार्ई लाभ पुर्याउनेछ।

नयाँ भवनको निर्माणकार्य एक करोड ६६ लाख ७८ हजार तीन सय ९८ रुपैयाँ ७७ पैसामा सहरी विकास मन्त्रालय र ईश्वरपुर नगरपालिकाको संयुक्त साझेदारीमा हुनेछ। नगर प्रमुख आचार्यले कार्यक्रममा जानकारी दिँदै भने यो भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधी ढाँचामा निर्माण हुनेछ र २०८२ सालको कार्तिक १५ गतेसम्ममा निर्माण कार्य पूरा हुनेछ।

सांसद चौधरीले विद्यालयको छात्र-छात्राका लागि आगामी दिनहरूमा थप अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्दै मैले कम्प्युटरको व्यवस्था गर्नका लागि पहल गरिरहेको छु। यसका साथै, विद्यालयलाई आवश्यकता अनुसार अन्य शिक्षा सामग्री र सुविधाहरू प्रदान गर्नेछु।

उप प्रमुख रन्जिता देवी चौधरीले पनि सांसद चौधरीको पहलको सराहना गर्दै विद्यालयमा बालिका शिक्षा र स्वास्थ्यका लागि विभिन्न पहल गर्ने कुरा गरेकी छिन्। सांसद चौधरीले स्यानिटरी प्याडका मेसिन र अन्य स्वास्थ्यका सामग्री उपलब्ध गराउने घोषणा गरेकी छन्। यसले विद्यार्थीहरूलाई स्वास्थ्य र शिक्षा दुबै क्षेत्रमा सहारा दिनेछ उनले भनिन्।
ईश्वरपुर नगरपालिका ९ का नगर प्रमुख मनोज कुमार आचार्यले नगरपालिकामा शिक्षा र अन्य आवश्यक क्षेत्रहरूको विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै हामीले शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारका क्षेत्रमा सुधार ल्याउन उच्च प्राथमिकता दिएका छौँ। यस भवन निर्माण परियोजना पनि तिनीहरूको एउटा उदाहरण हो भने।
यस परियोजनाले विद्यालयमा अध्ययन गर्ने हजारौं विद्यार्थीलार्ई नयाँ शैक्षिक अवसर र वातावरण प्रदान गर्ने छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?