नयाँदिल्ली । नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने सिधा रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री शाहको दुईदिने राजकीय भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले श्रव्यदृश्य माध्यमबाट हरियो झण्डा देखाउँदै रेल सेवाको शुभारम्भ गरेका हुन्।
त्रेतायुगीन धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका भगवान् श्रीरामको जन्मभूमि अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधामलाई प्रत्यक्ष रेल सञ्जालमार्फत जोडिएपछि दुवै देशबीच धार्मिक पर्यटन तथा आवागमनमा नयाँ सम्भावना थपिएको छ।
६०४ किलोमिटर लामो रेलमार्ग, सातामा एक दिन सेवा
करिब ६०४ किलोमिटर लामो उक्त रेलमार्गमा साताको एक दिन आधुनिक सुविधासम्पन्न रेल सेवा सञ्चालन हुने व्यवस्था गरिएको छ।
निर्धारित समयतालिकाअनुसार भारतको अयोध्या क्यान्ट रेल स्टेसनबाट प्रत्येक सोमबार साँझ ५ बजेर ५० मिनेटमा रेल प्रस्थान गर्नेछ। उक्त रेल मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा जनकपुरधाम आइपुग्नेछ।
त्यसैगरी, जनकपुरधामबाट प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा अयोध्याका लागि रेल छुट्नेछ। उक्त रेल आइतबार बिहान ८ बजेर १० मिनेटमा अयोध्या पुग्नेछ।
रेल सेवाका क्रममा भारतका विभिन्न नौवटा रेल स्टेसनमा यात्रु चढ्ने र ओर्लने व्यवस्था रहनेछ। जसमा जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर रहेका छन्।
यसअघि भारतीय रेल्वेले गत नोभेम्बर ५ मा उक्त रेलमार्गमा रेल सेवाको सफल परीक्षण गरिसकेको थियो।
धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ अवसर
जनकपुरधाम र अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएसँगै नेपाल र भारतबीचको शताब्दीयौँ पुरानो धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ।
विशेषगरी रामायण परिपथअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धन, तीर्थयात्रीको आवागमन सहज बनाउन तथा दुई देशका नागरिकबीच आपसी सम्बन्ध विस्तार गर्न यो रेल सेवाले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
जनकपुरधामस्थित जानकी मन्दिर र अयोध्यास्थित राम मन्दिर दर्शन गर्न चाहने तीर्थयात्रीका लागि समेत यो रेल सेवा उपयोगी हुने अपेक्षा गरिएको छ।
मंगलबार जनकपुर आइपुग्ने उद्घाटन रेल
सोमबार उद्घाटन गरिएको रेल मंगलबार भारतीय तीर्थयात्रीहरूसहित जनकपुरधाम आइपुग्ने कार्यक्रम रहेको छ। रेलमा आउने तीर्थयात्रीहरूको स्वागतका लागि जनकपुरधाममा विशेष तयारी गरिएको जनाइएको छ।
नेपाल रेल्वे कम्पनीका अनुसार अर्को सातादेखि सर्वसाधारण यात्रुले समेत टिकट आरक्षण गरेर नियमित रूपमा यस रेल सेवामार्फत यात्रा गर्न सक्नेछन्।
जनकपुरधाम–अयोध्या सिधा रेल सेवाको सुरुवातलाई नेपाल–भारतबीचको धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान र यातायात सम्पर्क विस्तारको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।
प्रतिक्रिया