काठमाडौं । नेकपा एमालेले आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई आगामी स्थानीय निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको छ। पार्टीभित्र नेतृत्व हस्तान्तरण र सांगठनिक रूपान्तरणको बहस चलिरहेका बेला हुन लागेको भेलामा भने पार्टी पुनर्संरचनाको विषयले प्रवेश नपाउने भएको छ ।
मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय कार्यकर्ता भेलालाई चुनावी रणनीति र पार्टी परिचालनमा केन्द्रित गर्ने निर्णय गरेको हो।
बैठकपछि जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले आगामी स्थानीय निर्वाचनमा पार्टी पंक्तिलाई कसरी परिचालन गर्ने भन्ने विषय भेलाको मुख्य प्राथमिकता रहने बताएका छन् । भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता विद्यादेवी भण्डारीले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
अध्यक्ष ओलीको प्रतिवेदनमा राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको भावी कार्यदिशा तथा आगामी दिनमा एमालेले अघि बढाउनुपर्ने कामहरू समेटिने बताइएको छ । त्यस्तै, वरिष्ठ नेता भण्डारीले मुलुकको समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यभारसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछिन्।
पार्टीभित्र नेतृत्व हस्तान्तरण र रूपान्तरणको विषयमा बहस भइरहेका बेला एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई भने तत्काल चुनावी तयारी र संगठन परिचालनमा केन्द्रित गर्न खोजेको देखिन्छ ।
एमालेको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु हुँदैछ ।
यसैबीच, मनोनित केन्द्रीय सदस्यहरू नरेन्द्र भट्टराई, सीता अधिकरी र पोल्देन छोपाङ गुरुङले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रतिक्रिया