बेलायतमा पनि कांग्रेस विभाजित : गगन पक्षलाई चुनौती दिँदै देउवा समूहबाट युवराज गुरुङ पुनः सर्वसम्मत

  नेपाली सन्देश डट कम | १ मंसिर २०८३, सोमबार ०१:४८

लन्डन । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष र विभाजनको असर बेलायतस्थित नेपाली जनसम्पर्क समितिमा समेत स्पष्ट रूपमा देखिएको छ। पार्टी सभापति गगन थापा पक्षले हितकाजी गुरुङलाई नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिका रूपमा अघि सारेपछि देउवा पक्षले त्यसको राजनीतिक प्रतिवाद गर्दै युवराज गुरुङलाई पुनः सर्वसम्मत सभापति चयन गरेको छ।

नेपाली कांग्रेसको संस्थापन पक्ष र देउवा समूहबीचको शक्ति संघर्ष अब प्रवासमा समेत आमनेसामने देखिएको छ। बेलायतमा दुई पक्षले आ–आफ्नो नेतृत्व स्थापित गर्न खोजेपछि नेपाली जनसम्पर्क समिति बेलायतको विवाद थप पेचिलो बनेको छ।

आगामी २२ नोभेम्बरमा लन्डनमा आयोजना हुन लागेको समितिको छैटौँ महाधिवेशनका लागि निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आइतबार भएको मनोनयन दर्तामा सभापति पदमा युवराज गुरुङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

प्रमुख निर्वाचन आयुक्त कमल कँडेलले सभापति पदमा गुरुङको एकल उम्मेदवारी परेको पुष्टि गर्दै उनलाई सर्वसम्मत चयन गरिएको जानकारी दिएका छन्। महाधिवेशनबाट आगामी चार वर्षका लागि २७ सदस्यीय कार्यसमिति चयन गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

वि.सं. २०४२ सालदेखि राजनीतिमा सक्रिय युवराज गुरुङले नेपाल विद्यार्थी संघ संखुवासभाको अध्यक्षबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। नेपाली कांग्रेसका भ्रातृ तथा जनसम्पर्क संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका गुरुङले यसअघि पनि दुई कार्यकाल नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्।

उनको पुनरागमनलाई बेलायतस्थित देउवा पक्षले आफ्नो संगठनात्मक पकड र राजनीतिक प्रभाव कायम राख्ने प्रयासका रूपमा हेरिएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको पहिलो नामावलीअनुसार उपसभापतिमा विनोद योन्जन, विशाल राई र सन्तोष सुवेदीको उम्मेदवारी परेको छ।

त्यस्तै, महामन्त्रीमा टपेन्द्र राई, सुजन बन्जरा र निशान लिम्बु प्रतिस्पर्धामा छन्। सहमहामन्त्रीमा सुधिर भण्डारी, बसन्त राई, दुर्गा लिम्बु, एलबीजेड गुरुङ र ज्ञानुराज राईले उम्मेदवारी दिएका छन्।

कोषाध्यक्षमा सुजित शाहीको एकल उम्मेदवारी परेको छ।

सदस्य पदका लागि दिवाराज राई, पारस कोइराला, हर्क लिम्बु, गणेश राई, दिव्याज्योति साहु, होमबहादुर पुन, सुदेश राई, ईश्वर गुरुङ, दीपक गुरुङ, भीम राई, सुभाष राई, नारायण लिम्बु, नन्दु स्याङ्बो र मिलन शाही उम्मेदवार रहेका छन्।

महाधिवेशन प्रतिनिधिका रूपमा युवराज गुरुङ, विनोद मोक्तान, विशाल राई, निशान लिम्बु, विनोद योन्जन, सुजित शाही, ईश्वर गुरुङ, सन्तोष सुवेदी, लोक गुरुङ, निर्मल सिग्देल, रोजिना गुरुङ, विनय अधिकारी, पारस कोइराला र राजकुमार सुनार चयन भएका छन्।

त्यसमध्ये युवराज गुरुङ, विनोद मोक्तान, सन्तोष सुवेदी, लोक गुरुङ, रोजिना गुरुङ र राजकुमार सुनार महासमिति सदस्यका रूपमा समेत चयन भएको निर्वाचन समितिको नामावलीमा उल्लेख छ।

हितकाजी पक्षको कार्यसमिति अझै सार्वजनिक भएन

यसअघि गगन थापा पक्षले हितकाजी गुरुङलाई सभापतिका रूपमा अघि सार्दै छुट्टै कार्यसमिति गठन गर्ने घोषणा गरेको थियो। तर, हितकाजी पक्षले अहिलेसम्म आफ्नो कार्यसमिति सार्वजनिक गर्न सकेको छैन।

यता देउवा पक्षबाट युवराज गुरुङ निर्विरोध सभापति चयन भएपछि बेलायतस्थित नेपाली कांग्रेसको संगठनात्मक राजनीतिमा शक्ति सन्तुलनको नयाँ बहस सुरु भएको छ।

नेपालको पार्टी राजनीतिमा देखिएको विभाजनको असर अब प्रवासमा समेत गहिरिँदै गएको यो घटनाले संकेत गरेको छ। बेलायतमा कांग्रेसको आधिकारिक संगठनात्मक नेतृत्व कसले स्थापित गर्ने भन्ने प्रश्न आगामी दिनमा थप पेचिलो बन्ने देखिन्छ।

प्रतिक्रिया

Selected poll is not defined.