काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनका दाइ हरिशरण लामिछानेले पाँच बुँदे सुझाव दिएका छन्।
उनले रास्वपाको वाचापत्रअनुसार प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनुपर्नेमा जोड दिएका हुन् ।
हरिशरणले दसैंको अवसरमा भाइ रविसँग गैर राजनीतिक भेटमा विभिन्न विषयमा छोटो छलफल गरेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत सुझाव सार्वजनिक गरेका छन्।
उनले जलवायु परिवर्तनबाट उत्पन्न परिस्थितिको दिगो समाधान खोज्नुपर्ने, नेपालको भूबनोटअनुसार देशभर पोडवे निर्माण गर्नुपर्ने र हेटौंडा-काठमाडौं पुरानो रोपवेलाई आधुनिक पोडवेमा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन्। यस्तो परियोजनाले सडकमा सवारी चाप घटाउन र वातावरण संरक्षणमा सहयोग पुर्याउन सक्ने उनको भनाइ छ।
त्यस्तै, उनले भूमिगत जल पुनर्भरण योजना, काठमाडौंको जलप्रवाह सुधार, विपन्न तथा कम आय भएका नागरिकलाई निश्चित अनुपातमा निःशुल्क सुविधा र सौर्य ऊर्जामार्फत घरेलु आम्दानी बढाउन सकिने स्मार्ट मिटरिङ प्रणालीको अवधारणा अघि सारेका छन्।
हरिशरणले रास्वपाको वाचापत्रअनुसार गैर दलीय स्थानीय तह निर्वाचनको विषयमा पनि स्पष्ट धारणा बनाउन सुझाव दिएका छन्।
देशको आर्थिक, सामाजिक, राजनीतिक तथा भूराजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रिय प्राथमिकता र रणनीति तय गर्नुपर्ने उनको भनाइ छ। राजनीतिक स्थिरता, सुशासन, दिगो शान्ति र प्रगतिका लागि सर्वपक्षीय सहमति निर्माण गर्नुपर्ने सुझाव पनि उनले दिएका छन्।
प्रतिक्रिया