प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  नेपाली सन्देश डट कम | १५ आश्विन २०८३, बिहीबार ०५:५९

काठमाडौं । संघीय संसद्को दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे सिंहदरबारमा बस्न लागेको हो ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन् ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धिन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

राष्ट्रियसभा बैठकका यस्ता छन् एजेण्डा

राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने छिन् ।

यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस हुने सम्भावित कार्यसूची छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची पनि छ ।

कृषि र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

आजै दुई संसदीय समितिका बैठक पनि बस्दै छन् । आज कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान आठ बजे सिंहदरबारमा बस्ने छ । सो बैठकमा कृषि मन्त्री र सचिवलाई बोलाइएको छ ।

यसैगरी बिहान सवा ११ बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ को मसौदा प्रतिवेदन माथि छलफल हुने कार्यक्रम छ ।

प्रतिक्रिया

Selected poll is not defined.