त्रिपुरेश्वर घटनामा ६ यातायात संगठन एकजुट, ९ बुँदे माग सार्वजनिक

  नेपाली सन्देश डट कम | ६ आश्विन २०८३, मंगलवार १९:०८

काठमाडौं । राजधानीको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भई गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा मृत्यु भएपछि उपत्यकाको यातायात क्षेत्र उत्तप्त बनेको छ ।

सवारी साधनमा आगो लागेर ज्यान गुमाएका चालकको घटनालाई लिएर यातायात क्षेत्रका ६ वटा प्रमुख महासंघ तथा संघ–संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारसमक्ष विभिन्न ९ बुँदे माग अघि सारेका छन् ।

सार्वजनिक विज्ञप्तिअनुसार यातायात संगठनहरूले मृतक चालकको परिवारलाई तत्काल राहत उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गर्न र आगजनीबाट नष्ट भएको सवारीसाधनका धनीलाई क्षतिपूर्ति उपलब्ध गराउन पहिलो सर्तका रूपमा माग गरेका छन् । विवाद सुरु भएदेखि घटना हुनेसम्मका घटनाक्रमको निष्पक्ष सत्यतथ्य पत्ता लगाउन सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र फोन सम्पर्कका आधारमा सरोकारवालासहितको उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्न उनीहरूको जोड छ।

यसका साथै श्रम ऐन, २०७४ अनुसार सबै यातायात श्रमिकलाई अनिवार्य रोजगार सम्झौता लागू गर्न र सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने कानुनी व्यवस्था गर्न माग गरिएको छ।सडकमा ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार मानसिक दबाब र कानुनी हैरानीविरुद्ध २४ घण्टे हेल्पलाइन तथा द्रुत न्यायिक सुनुवाइ संयन्त्र स्थापना गर्नुपर्ने विषयलाई पनि संगठनहरूले प्राथमिकताका साथ उठाएका छन् ।

ट्राफिक प्रहरीको कार्यशैली, चेकिङ र कारबाही प्रक्रियाको निष्पक्ष छानबिनका लागि सरोकारवाला सम्मिलित अनुगमन संयन्त्र बनाउनुपर्ने, सवारी ऐनअनुसार दिइएको कारबाहीको अधिकारलाई कानुनबमोजिम पुनर्व्यवस्थित गरिनुपर्ने र श्रमिकहरूको जीवन तथा पेसागत मर्यादाको सुरक्षा गर्नुपर्ने माग समेटिएका छन्।

यसबाहेक देशभरका सडकहरूमा व्यवस्थित बसबिसौनी सार्वजनिक शौचालय र विश्रामस्थलजस्ता श्रमिकमैत्री पूर्वाधार निर्माण गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

Selected poll is not defined.