काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताएका छन् ।
राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले ‘बालपनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराले बालबालिकाको सुरक्षित भविष्यमा जोड दिएको बताएका हुन् ।
उनले बालबालिकाको सर्वाङ्गीण विकासका लागि गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि लगानी भएको बताएका छन्। साथै बालअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चार जगत् तथा सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले संविधान, राष्ट्रिय बालबालिका नीति र बालबालिकासम्बन्धी ऐनले बालबालिकाका अधिकार सुनिश्चित गरेको बताउँदै अब ती अधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र जिम्मेवारी आवश्यक रहेको उनको भनाइ छ। स्थानीय तहले बालबालिकाको नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन्।
प्रतिक्रिया