डा. हेम राज शर्मा । पहिले पनि यहाँ चुनावी कुराहरू आए, केही असन्तुष्टि (स्क्यान्डल) का कुराहरू पनि भए। जापान यस्तो ठाउँ हो, जहाँ विचारमा जतिसुकै विमति भए पनि तपाईंहरू एउटै मञ्चमा आउनुहुन्छ। यो देशमा हामीले अन्य देशमा जस्तो अन्तरद्वन्द्व देखेका छैनौं, जुन अत्यन्तै सकारात्मक पक्ष हो।
अहिले दुई धारमा रहेका मानिसहरू दुई–चार वर्षपछि फेरि यही ‘वृहत् एकता’ पछि एउटै ठाउँमा आइरहेका छौँ, यो झन् महत्त्वपूर्ण कुरा हो। श्री दाई, सिद्धार्थ जी, कालिका जी लगायत तपाईंहरूले राख्नुभएको सम्पूर्ण प्रस्तुतिमा म पूर्ण सहमत छु। म जिम्मेवारीमा भएको हुनाले गाली खानु स्वाभाविकै हो र तपाईंहरूको गालीले मलाई एक किसिमको आनन्द पनि दिन्छ। किनभने, जसलाई एनआरएनए (NRNA) सँग सरोकार नै छैन, जो कहिल्यै कार्यक्रममा आउँदैनन् वा सदस्य नै बनेका छैनन्, त्यस्ता मानिसले गाली गर्दा मात्र मलाई चित्त दुख्छ। तपाईंहरूले गर्नुभएको आलोचना त हामीलाई सुध्रिने मौका हो। त्यसैले गाली गर्न नछोड्नुहोला, हामीले यसलाई सहज रूपमा लिएका छौँ।
केही एनसीसीका साथीहरूले ‘गाली खाइन्छ’ भनेर आफ्नो व्यथा पोख्नुभयो। मैले भन्ने गरेको छु— यदि समाज सेवा गर्ने हो भने हात्तीको जस्तो बाक्लो छाला हुनुपर्छ। समय बर्बाद हुने, बाहिर गाली खाइने र घरमा पनि गाली खाइने अवस्था हामी सबैको छ। यति हुँदाहुँदै पनि हामी किन यहाँ छौँ भने, हामीले आफूलाई अरूभन्दा विशिष्ट सोच्नुपर्छ। यहाँ झन्डै २ लाख ८० हजार नेपालीहरू बस्नुहुन्छ, तर सक्रिय भएर यहाँ कतिजना आउनुभएको छ? त्यसैले पहिले आफैँले आफैँलाई सम्मान गर्न सिक्नुहोस्। म त गाली खाए पनि हामी समाजका ‘एसेट’ (सम्पत्ति) हौँ भन्ने ठान्दछु।
अब जापानको सन्दर्भमा, निवर्तमान अध्यक्षज्यूलाई बधाई दिनुपर्छ। वन फँडानी गर्दा कहिलेकाहीँ मानवीय क्षति नभएजस्तै, हाम्रो विभाजनको प्रक्रियामा पनि कुनै ठुलो क्षति (Casualty) भएन। यसमा रोबिन जी, रोशन जी लगायत सबैको साथ रह्यो। यदि तपाईंहरू १० जना नै पदका लागि लुछाचुँडी गरेर अघि बढेको भए विभाजन अवश्य हुन्थ्यो, तर तपाईंहरूले विवेक पुर्याउनुभयो। सिद्धार्थ जीले आज यस कार्यक्रममा आएर जसरी बोल्नुभयो, यस्तो एकता अन्यत्र कतै पाइँदैन। आजको माहोल चुनावी जस्तो देखिए पनि यसलाई सहज रूपमा लिनुहोला।
म जापान आइरहन्छु, किनकि मलाई एनआरएनए बनाउने नै जापानले हो। मेरो उम्मेदवारीभन्दा पनि मुख्य कुरा ‘वृहत् एकता’ को सन्देश हो। हामीले गरेका गल्तीहरू स्वीकार्न र तपाईंहरूका कुरा सुन्न म यहाँ आएको हुँ। धेरैलाई लाग्न सक्छ, हेमराज र रोबिन जी बीच चुनाव हुन्छ कि भनेर। तर तपाईंहरू चिन्ता नगर्नुहोस्, सम्भवतः हामी दुईजना चुनाव लड्ने छैनौँ। हामी दुवैलाई अध्यक्षकै रूपमा सोच्नुहोस्। जापानले त पहिले नै तीनजना अध्यक्ष उत्पादन गरिसक्यो, अब चौथो र पाँचौँ पनि जन्माउनेछ। पाँचवटा केन्द्रीय अध्यक्ष जन्माउने देश हुनु चानचुने कुरा होइन।
रोबिन जीप्रति समाजको जुन श्रद्धा छ, त्यो देख्दा मलाई खुसी लाग्छ। उहाँको बारेमा कसैले गुनासो गरेको मैले सुनेको छैन। यस्तो निर्विवाद व्यक्तित्व एनआरएनएमा हुनु अचम्मको र गर्वको कुरा हो। हाम्रो एजेन्डा एउटै छ। काठमाडौँमा भेटेर हामी छलफल गर्नेछौँ र एउटा निष्कर्षमा पुग्नेछौँ। कदाचित् निर्वाचन नै भइहालेछ भने पनि यसलाई ‘टेक इट इजी’ (सहज रूपमा) लिनुहोला। चुनाव हार्दैमा संसार सकिँदैन। हिजोका चुनावहरूमा दलीय प्रतिष्ठा जोडिएको हुन्थ्यो, तर हाम्रो हकमा त्यस्तो छैन। हामी हारे पनि संस्था हार्दैन। त्यसैले मतदान गर्दा आफ्नो विवेक प्रयोग गर्नुहोला, म माइन्ड (चित्त दुखाउने) गर्दिनँ।
हाम्रो मुख्य ध्यान अहिले एकताको सहमतिलाई कार्यान्वयन गर्ने र बाहिर रहेका साथीहरूलाई कसरी समायोजन गर्ने भन्नेमा हुनुपर्छ। सर्वोच्च अदालतको म्यान्डेट अनुसार ११ औँ अधिवेशनबाट निर्वाचित बद्री केसीको टिमलाई स्वीकार गर्ने र १० औँ तथा ११ औँ अधिवेशनका क्रममा बनेका कमिटीहरूलाई अभिलेखीकरण गर्ने सहमति भएको छ। सहमति गर्दा कसैले न केही छोड्नै पर्छ। यो ‘विन–विन’ (Win-Win) अवस्था हो।
अबको ६ महिनाभित्र एकताको अधिवेशन गरेर नयाँ नेतृत्व निर्वाचित गरिनेछ। छुटेका साथीहरूका लागि ९ तारिखसम्म सदस्यता खुल्ला गरिएको छ। सबैलाई एमआईएस (MIS) सिस्टममा ल्याइनेछ। २:८ को अनुपात वा उपयुक्त सदस्य संख्याका आधारमा प्रतिनिधि चयन हुनेछन्। यसमा कसैलाई अन्याय भएको म देख्दिनँ।
एनआरएनएमा ८० लाख नेपाली भनिए पनि ८० हजार सदस्य पनि पुग्न गाह्रो छ। हाम्रा सदस्यहरू केवल ‘मतदाता’ मात्र भए, वास्तविक सदस्य हुन सकेनन्। युवा र पेशागत मानिसहरूको सहभागिता न्यून छ। एनआरएनए जान पैसा चाहिन्छ भन्ने जुन भाष्य (Narrative) निर्माण भएको छ, त्यसलाई चिर्नु जरुरी छ। राजनीति र झगडाका कारण धेरै मानिस टाढा छन्।
मैले ‘रिब्रान्डिङ’ भन्ने शब्द प्रयोग गरेको छु। हाम्रो संस्था चुनावमुखी मात्र भयो। वर्षभरि चुनावकै चिन्ता हुन्छ। हामीले यस्तो संरचना बनाउनुपर्छ जहाँ सदस्यहरूले संस्थाको अपनत्व महसुस गरुन्। यदि हामीले १० लाख सदस्य बनाउन सक्यौँ भने यो नेपालकै सबैभन्दा शक्तिशाली संस्था बन्नेछ र बल्ल हामीले सरकारसँग बलियो बार्गेनिङ (अधिकारका लागि कुरा) गर्न सक्नेछौँ। एनआरएनएलाई राजनीति र पैसाको खेलबाट बाहिर निकाल्नु नै मेरो मुख्य लक्ष्य हो।
संस्थाभित्र देखिएका अनेकौँ चुनौती र विकृतिहरूको मूल जड वर्तमान ‘डेलिगेट सिस्टम’ नै हो भन्ने मेरो ठहर छ। यो प्रणालीले गर्दा उम्मेदवारहरूले प्रतिनिधिहरूलाई ल्याउने, लैजाने र उनीहरूको खानपान एवं आवासको खर्च बेहोर्नुपर्ने एउटा खर्चिलो र भड्किलो संस्कृति मौलाएको छ। चुनाव जित्नैका लागि कहिले नेपालका शीर्ष नेताहरू त कहिले स्थानीय तहका प्रभावशाली व्यक्तिहरूलाई खुसी पार्नुपर्ने बाध्यताले संस्थालाई दलीय राजनीतिको छायामा पारेको छ। यो प्रणालीले आर्थिक रूपमा सबल नभएका तर भिजन भएका क्षमतावान् व्यक्तिहरूलाई नेतृत्वमा पुग्नबाट रोकिरहेको छ।
निर्वाचन प्रणालीमा देखिएको अर्को समस्या भौगोलिक प्रतिनिधित्वको असन्तुलन पनि हो। भौतिक रूपमा उपस्थित भएर मात्र मतदान गर्ने व्यवस्थाले गर्दा कतार जस्ता सहज पहुँच भएका देशबाट मात्र ७० प्रतिशतसम्म मतदान हुने र अन्य देशको प्रतिनिधित्व ओझेलमा पर्ने अवस्था हामीले देखिसकेका छौँ।
यसलाई समाधान गर्न ‘इलेक्ट्रोरल कलेज’ वा अमेरिकाको जस्तै सन्तुलित मतदान मोडलमा जानु आवश्यक छ, जहाँ साना र ठूला सबै एनसीसीहरूको भूमिका सुनिश्चित होस्। प्रविधिको प्रयोगमार्फत संसारभरका सदस्यले आफ्नै ठाउँबाट सुरक्षित अनलाइन मतदान गर्न पाउने व्यवस्था अबको अनिवार्य आवश्यकता भइसकेको छ।
हाम्रो अर्को महत्त्वपूर्ण जिम्मेवारी भनेको दोस्रो पुस्ताका नेपालीहरूलाई नेपाल र एनआरएनएको मूलधारमा जोड्नु हो। हाम्रो पुस्ताको मन र मस्तिष्क नेपालमै भए पनि नयाँ पुस्ताको सोच र परिवेश फरक छ। उनीहरूलाई जोड्न ठूला भाषण होइन, व्यावहारिक र आकर्षक कार्यक्रमहरू चाहिन्छ।
यसका लागि ‘एक महिने होली-डे प्याकेज’ जस्ता योजनाहरू प्रभावकारी हुन सक्छन्। जसमा हाम्रा छोराछोरीले नेपालका पहाडहरूमा ट्रेकिङ गर्ने, आफूले पढेको विद्यालयमा केही समय स्वयंसेवा गर्ने र सांस्कृतिक सम्पदाहरूको भ्रमण गरी परिवारसँग समय बिताउने अवसर पाउन्। यस्ता गतिविधिले उनीहरूमा आफ्नो पुर्ख्यौली भूमिप्रति भावनात्मक सम्बन्ध र अपनत्व सिर्जना गर्दछ।
संस्थाको भौतिक र प्राविधिक क्षमतालाई पनि हामीले भरपुर उपयोग गर्नुपर्छ। बालुवाटारस्थित सचिवालयका खाली तल्लाहरूलाई ‘कम्युनिटी हब’ का रूपमा विकास गरी विदेश जाने विद्यार्थीहरूका लागि ओरिएन्टेसन दिने थलो बनाउन सकिन्छ। त्यसैगरी, विश्वभर रहेका करिब एक लाख नेपाली रेस्टुरेन्ट र व्यवसायहरूलाई एउटै डिजिटल सञ्जालमा आबद्ध गरी एउटा साझा नेभिगेसन टुल निर्माण गर्न सकिन्छ।
यसले एकातिर नेपाली व्यवसायलाई टेवा पुर्याउँछ भने अर्कोतिर संस्थाका लागि आम्दानीको नयाँ स्रोत पनि सिर्जना गर्दछ। चन्दा र सदस्यता शुल्कको मात्र भर नपरी संस्थालाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउन अन्तर्राष्ट्रिय संघ-संस्थाहरूसँगको सहकार्य र सुरक्षित लगानीका ढोकाहरू खोल्नुपर्छ।
अन्त्यमा, एनआरएनएमा देखिएको नेतृत्वको संकट र राजनीतिक हस्तक्षेपलाई कम गर्न हामी आफैँ सुध्रिनुको विकल्प छैन। सदस्यता प्रणालीलाई सरल र निःशुल्क बनाउँदै जाँदा आर्थिक चलखेल स्वतः कम हुनेछ। नेताहरूलाई गाली गर्नुभन्दा पनि हामीले एउटा यस्तो पद्धति बसाल्नुपर्छ, जहाँ पैसाको धाक होइन, भिजन र कार्यक्षमताको सम्मान होस्। मेरो लक्ष्य एनआरएनएलाई एउटा मर्यादित, पारदर्शी र आम गैर-आवासीय नेपालीहरूको साझा चौतारीका रूपमा पुनः स्थापित गर्नु हो, जहाँ हरेक नेपालीले गर्वका साथ आफ्नो अपनत्व महसुस गर्न सकून्।
(एनआरएनए जापानद्धारा आयोजित कार्यक्रमलाई सम्बोधनको सारअंश, डा. शर्मा एनआरएनएका केन्द्रीय उपाध्यक्ष हुन्)
प्रतिक्रिया