जेन-जी आन्दोलनको नेतृत्वदायी भूमिकामा देखिएका हामी नेपालका संस्थापक सुदन गुरुङले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिरासँगको विशेष अन्तर्वार्तामा आफू आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्न तयार रहेको बताएका छन्।
रगतले लतपतिएको सेतो भेस्ट लगाएर अन्तर्वार्ता दिएका उनले देश र जनताले जिम्मेवारी दिए पछि नहट्ने बताउँदै पुराना राजनीतिक दलका नेताहरूलाई उनीहरूले गरेका अपराधको छानबिन गरी चुनावमा भाग लिनबाटै रोक्नुपर्नेमा जोड दिए।
अल जजिराको ‘स्टार्ट हियर’ कार्यक्रमका लागि दिएको अन्तर्वार्तामा गुरुङले नेपालमा ४८ घण्टाभन्दा कम समयमा जेन-जी प्रदर्शनकारीहरूले सरकार ढालेको बताउँदै आफ्नो दृढ अडान प्रस्तुत गरे। ‘हामी अब पछि हट्ने छैनौं। अन्त्यसम्म लड्नेछौं,’ उनले भने।
अन्तर्वार्तामा गुरुङले आन्दोलनका क्रममा मारिएका युवाहरुको रगत लागेको भेस्ट देखाउँदै, यो रगत न्यायको प्रतीक भएको सुनाए। ‘यो मारिएका बच्चाहरूको रगत हो,’ उनले भने, ‘जबसम्म हामीले न्याय पाउँदैनौं र हाम्रो देश परिवर्तन भएको महसुस गर्दैनौं, तबसम्म यो भेस्ट नधुने हामीले वाचा गरेका छौं।’
उनले आन्दोलन हिंसात्मक हुनुमा तत्कालीन सरकारलाई दोष दिए। ‘हामीले हिंसा रोजेका होइनौं। पहिलो गोली सरकारको तर्फबाट चलाइएको थियो,’ गुरुङले भने, ‘हाम्रो सरकारले भविष्यको रक्षा गर्नुको सट्टा हामीलाई नै मार्यो।‘
उनले थप सुनाए, ‘यदि जनताले मलाई रोज्छन् भने, म निश्चित रूपमा प्रधानमन्त्रीको लागि चुनाव लड्नेछु।’ उनले यो पद नभई जनताले दिएको जिम्मेवारी भएको बताए। ‘यो एउटा आन्दोलन हो। मैले यो गर्नैपर्छ। मसँग अरू विकल्प छैन। मैले मेरो देश बचाउनु छ,’ उनले सुनाए।
उनले आगामी चुनावमा पुराना दलहरूलाई सहभागी हुन नदिन उनीहरूले गरेका अपराधको छानबिन प्रक्रियालाई तीव्रता दिने चेतावनी दिए।
यदि चुनावमा पुराना दलले जितेमा त्यसलाई स्वीकार नगर्ने र पुनः आन्दोलन गर्ने उनको भनाइ थियो। ‘कुनै पनि सच्चा नेपालीले उनीहरूलाई फिर्ता चाहँदैनन्,’ उनले भने, ‘हामी उनीहरूलाई जेलमा देख्न चाहन्छौं।’
छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले छिमेकी बदल्न नसकिने यथार्थ स्वीकार्दै सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। ‘हामी सार्वभौम राष्ट्र हौं। यदि त्यो सम्मान हामीलाई दिइन्छ भने, हामी पनि छिमेकीलाई सम्मान गर्नेछौं। तर हाम्रो आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन,’ उनले भने।
गुरुङले राजतन्त्र पक्षधर समूहहरूसँग सहकार्य गर्ने कुनै मनसाय नभएको तर उनीहरूलाई एउटै राष्ट्रिय झण्डामुनि नेपाली नागरिकको रूपमा वार्तामा आउन आग्रह गरे। ‘हाम्रो लडाइँ सबै नेपालीलाई एउटै झण्डामुनि एकताबद्ध गर्नु हो,’ उनले भने।
प्रतिक्रिया