काठमाडौं । ‘जेनजी’ पुस्ताको २४ भदौ देखि सुरु भएकोे आन्दोलनबाट मुलुकले पहिलो महिला प्रधानमन्त्री पाएको छ । मुलुकमा यति बेला तन्नेरी पुस्ताको दबदबा छ । यो परिवर्तनसँगै पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा चलचित्र क्षेत्रका कलाकारहरूले सकारात्मक रूपमा दिएका छन् । यो आन्दोलनमा सुरु देखि नै समर्थन गर्दै आएका ‘जेनजी’ पुस्ताका अभिनेता अभिनेत्रीहरूले यो परिवर्तनलाई ऐतिहासिक सफलताको रूपमा व्याख्या गरेका छन् । उनीहरुले राजधानीसँगको कुराकानी तथा सामाजिक सञ्जाल मार्फत यस्तो व्याख्या गरेका हुन् ।
सुरुको दिनबाटै ‘जेनजी’ पुस्ताको आन्दोलनलाई समर्थन गर्दै आएका ‘जेनजी’ रोजाइका अभिनेता अनमोल केसीले पनि यो आन्दोलनको सफलताले मुलुकमा नयाँ इतिहास रचेको बताएका छन् । यो सफलता’bout उनले लेखेका छन्,‘नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ । यो जित हाम्रो पुस्ताको साहसले सम्भव भएको हो । यस्तो साहसी र युगान्तकारी परिवर्तनको साक्षी बन्न पाएकोमा साँच्चिकै गर्व लागेको छ ।’
अनमोलले ‘जेनजी’ दाजुभाइ दिदीबहिनीहरू र परिवर्तनका लागि उभिएका सबैका लागि यो विशेष भएको जनाएका छन् । आन्दोलनमा ज्यान गुमाएका वीर दाजुभाइ दिदीबहिनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै दिवंगतहरूको सपना अब आफूहरूले अघि बढाउने उल्लेख गर्दै अनमोलले भनेका छन्,‘युवाको सही हस्तक्षेपले जतिसुकै जरा गाडेको भए पनि खराब व्यवस्था जरैदेखि उखेलेर फ्याँक्न सक्छ । तर हामीले यसका लागि चुकाउनु परेको मूल्यलाई कहिल्यै बिर्सनु हुँदैन’, उनले यो अन्त्य नभएर नयाँ नेपालको सुरुवात भएको जनाउँदै मुलुक न्याय, समानता र समृद्धिको जगमा बन्ने विश्वास व्यक्त गरेका छन् ।
‘जेनजी’ पुस्ताकी अभिनेत्री अञ्जना बराइलीले ओली सरकारबाट मुलुकमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएकोमा सुरुमा त्यसको कडा विरोध गर्दै आएकी थिइन् । आफ्नो पुस्ताले सुरु गरेको आन्दोलनमा प्रारम्भ देखिनै साथ दिएकी यी अभिनेत्रीले सो क्रममा सामाजिक सञ्जालमार्फत घण्टा घण्टामा खबरदारी गर्दै आएकी थिइन् । निकै ठुलो संघर्ष र आफ्ना छिमलका युवाहरूको ठुलो बलिदानीले अब भ्रष्टाचार अन्त्य हुने विश्वास उनले गरेकी छिन् । अहिलेको सफलतालाई ऐतिहासिक उपलब्धिको रूपमा चर्चा गर्दै मुलुकले पहिलो महिला प्रधानमन्त्री पाएकोमा अभिनेत्री अञ्जनाले भनेकी छिन्,‘नेपालको इतिहासमा प्रथम महिला प्रधानमन्त्रीको रूपमा नियुक्ति पाउनु भएकोमा सम्माननीय सुशीला कार्कीलाई हार्दिक बधाई र शुभकामना ।’
‘जेनजी’को रोजाइका अर्का अभिनेता प्रदीप खड्काले पनि सामाजिक सञ्जाल प्रतिबन्धको विरोध गर्दै ‘जेनजी’को आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आएका थिए । उनले अहिले नयाँ प्रधानमन्त्रीसँगै अब बन्ने नयाँ मन्त्री मण्डललाई बधाई ज्ञापनसँगै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रदीपले सामाजिक सञ्जाल मार्फत यस्तो भनेका छन्,‘ देश र जनताको लागि आफ्नो जिम्मेवारी पूरा गर्न शक्ति र साहसको कामना गर्दछु । उज्ज्वल भविष्य र समृद्ध नेपालप्रतिको आशा जीवित राख्न योगदान प्रदान गर्नुहुने सबै योद्धाहरूप्रति कृतज्ञता, देशका लागि बलिदान दिनुभएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैमा छिटो स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।’
‘जेनजी’ पुस्तकी अभिनेत्री सुहाना थापाले पनि आफ्नो पुस्ताको आन्दोलनलाई सुरु देखि नै समर्थन गर्दै आएकी थिइन् । ‘जेनजी’ आन्दोलनमा राज्य पक्षको बर्बर दमनको सामाजिक सञ्जाल मार्फत उनले विरोध गर्दै आएकी थिइन् । यो परिवर्तनसँगै पहिलो महिला प्रधानमन्त्री देशले पाएकोमा यसलाई आफ्नो पुस्ताको जितको रूपमा उनले लिएकी छिन् । यसलाई उनले राष्ट्र गानको एक हरफ सम्झँदै ‘वीरहरूका रगतले स्वतन्त्र र अटल’ भनेकी छिन् ।
‘जेनजी’ पुस्ताका अर्का अभिनेता सलोन बस्नेतले पनि यो आन्दोलनलाई सुरु देखिनै समर्थन गर्दै आएका थिए । सामाजिक सञ्जाल बन्दको विरोध गर्दै उनले आन्दोलनमा उत्रन ‘जेनजी’लाई हौसला दिँदै आएका थिए । आन्दोलनको दोस्रो दिन राष्ट्रिय सम्पत्तिमाथि भएको आगलागी रोक्नको लागि अपिल गर्दै आएका सोलनले आफ्ना पुस्ताको बलिदानीका कारण मुलुकले पहिलो पटक नयाँ महिला प्रधानमन्त्री पाएको बताएका छन् । अब मुलुकले नयाँ लय लिने उनको विश्वास छ । यो आन्दोलनमा प्रत्यक्ष लाग्ने आफ्नो श्रीमतीदेखि सबै ‘जेनजी’लाई अभिनेता सलोनले सलाम भनेका छन् ।
तन्नेरी पुस्ताका अभिनेता धिरज मगरले पनि ‘जेनजी’को आन्दोलनको सफलतासँगै आफ्नो पुस्ताले नयाँ इतिहास बनाएको बताएका छन् । उनले भनेका छन्,‘हामीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई पाएकोमा गौरव महसुस भएको छ ।’
आफू ‘जेन वाई’ पुस्ताको भए पनि अभिनेत्री केकी अधिकारीले ‘जेनजी’को आन्दोलनमा सुरु देखि नै समर्थन गर्दै आएकी थिइन् । यो परिवर्तनलाई मुलुक सतीले सरापेको देश भन्ने भाव त्याग्न उनले आग्रह गरेकी छिन् । मुलुकमा नयाँ परिवर्तन आवश्यक भएको औँल्याउँदै उनले भनेकी छिन्,‘सतीले सरापेको ग्लानि भाव त्यागेर आमाको आशिषले समुन्नत कहलाउने, यो देशको नयाँ चिनारी, नयाँ बिहानी, नयाँ आशा हेर्न आतुर छु । नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई हार्दिक बधाई तथा शुभकामना !’
‘जेन वाई’ पुस्ताका अभिनेता प्रकाश सपुतले पनि यो सफलताका लागि आफ्नो भाइसहितको ‘जेनजी’ पुस्तालाई बधाई ज्ञापन गरेका छन् । आफ्ना २५ र २६ वर्षका दुई भाइलाई ‘जेनजी’ पुस्ताको आन्दोलनमा उनले पठाएका थिए । भाइ मार्फत उनले ‘जेनजी’ लाई आन्दोलनमा पानी बाँड्न लगाएका थिए । अहिलेको यो परिवर्तन प्रति उनले सबै ‘जेनजी’लाई धन्यवाद ज्ञापन गरेका छन् । अभिनेता प्रकाशले नेपालको पहिलो महिला प्रधानमन्त्री भएकोमा सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै गरेका छन् । मृतकहरू प्रति श्रद्धाञ्जली र घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले भनेका छन्,‘सबै भन्दा सुन्दर कुरा भनेको ठुलो बलिदानी र प्रक्रिया पछि बनेको नयाँ संविधानको पनि संरक्षण भएको छ । यो सोच र संयमपूर्वक गरिएको निर्णयका लागी जेन्जी अझै परिपक्व देखियो’, उनले परिवर्तन एउटा प्रक्रिया भएको र यसले समय लिने बताउँदै अब आशाको गीत गाऔँ भनेका छन् ।
प्रतिक्रिया