माधव नेपालपछि नेतृत्वको प्रतिस्पर्धामा कसको वर्चस्व?

  नेपाली सन्देश डट कम | २४ जेष्ठ २०८२, शनिबार ०४:१८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार अभियोगमा अदालतमा मुद्दा दर्ता भइसकेपछि अब उनको पद निलम्बनमा परिसकेको छ । प्रचलित कानुनअनुसार उनी सांसद पदबाट निलम्बित भइसकेका छन् र अब उनले पार्टी अध्यक्षको रुपमा समेत काम गर्न पाउँदैनन् ।

पार्टीको अध्यक्षकै पद निलम्बनमा परेपछि अब एकीकृत समाजवादी पार्टी कसरी अगाडि बढ्छ भन्ने विषयमा चासो बढेको छ । पार्टी अध्यक्ष नेपाल पार्टीको प्रतिनिधि सभा संसदीय दलको नेतासमेत भएको अवस्थामा अब पार्टीको बाहिरी नेतृत्व मात्रै नभइ प्रतिनिधि सभामा दलका सांसदहरुको नेतृत्व कसले गर्छ भन्ने प्रश्न पनि उठेको छ ।

प्रचलित कानुनले एकीकृत समाजवादी पार्टीलाई अध्यक्षको हकमा दुई विकल्प दिन्छ । एउटा विकल्प हो कार्यवाहक अध्यक्षले पार्टीको नेतृत्व गर्ने । पार्टी अध्यक्षको पद निलम्बनमा रहेको अवस्थामा पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी र पदाधिकारी जस्ता नेतृत्व तहका कमिटीले निर्णय गरेर अर्को कसैलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन सक्छन् । यो अवस्थामा अध्यक्ष माधव नेपाल नै रहन्छन् तर उनले काम गर्न पाउँदैनन् । पार्टीले तोकेको कार्यवाहक अध्यक्षले पार्टी अध्यक्षको रुपमा काम गर्छन् ।

दोस्रो विकल्प भनेको नेपालले अध्यक्ष पदबाटै राजीनामा दिने हो । यस्तो अवस्थामा नेपाल अध्यक्ष रहने छैनन् । उनको ठाउँमा दोस्रो बरियताको नेता वा पार्टीले तोकेको व्यक्तिले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । नेपालले राजीनामा दिएको अवस्थामा पार्टीले प्रचलित कानुन र पार्टीको विधानअनुसार अर्को कुनै कार्यवाहक अध्यक्ष बनाउन सक्छ वा आकस्मिक विकल्प प्रयोग गरी पूर्ण अधिकारसहितको अध्यक्ष नै निर्वाचित गर्न सक्छ ।

पार्टीमा नेपालपछि दोस्रो बरियतामा रहेका सम्मानित नेता झलनाथ खनालका अनुसार पार्टीले अहिलेसम्म कसलाई नेतृत्व दिने भन्ने निर्णय गरिसकेको छैन । ‘हामीले पार्टीका विभिन्न कमिटीमा छलफल गरेर निर्णय गर्छौं’ उनले डिसीनेपालसँग भने ‘पार्टीका कमिटीहरुले जे निर्णय गर्छन् त्यही अनुसार पार्टीको भावी नेतृत्व तय हुन्छ ।’

खनालले पार्टी अध्यक्ष नेपालले राजीनामा दिने वा नदिने भन्ने विषयमा पनि कुनै जानकारी नभएको बताए । पद निलम्बनमा पर्ने तर राजीनामा दिन अनिवार्य नहुने भएकोले त्यो अध्यक्षको व्यक्तिगत कुरा भएको उनले बताए । ‘राजीनामा दिने वा नदिने भन्ने पार्टी अध्यक्षको व्यक्तिगत कुरा हो’ उनले भने ‘उहाँले जे ठिक ठान्नुहुन्छ त्यही गर्नुहुन्छ ।’

आफू पार्टीमा दोस्रो बरियतामा रहेको भए पनि नेतृत्वमा आफ्नो दावेदारी नभएको उनले बताए । ‘पार्टीका कमिटीले के निर्णय गर्छन् भन्ने मुख्य कुरा हो’ उनले भने ‘पार्टीले जे निर्णय गर्छ त्यही हुन्छ ।’ पार्टीको संसदीय दलको नेतृत्वको हकमा पनि पार्टीका सांसदहरुले प्रचलित कानुन र पार्टीको विधान बमोजिम निर्णय गर्ने उनले बताए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?