काठमाडौं । प्रतिनिधिसभाको बैठक संचालन हुने विषयमा आज पनि अन्योल देखिएको छ । आज अपराहन्न १ बजेको लागि बोलाईएको बैठक अझै सुरु हुन सकेको छैन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले सदनको अवरोध जारी राखेपछि बैठक बस्न नसकेको हो । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँग छलफल गरिरहेका छन् ।संसद भवनमा रहेको आफ्नो कार्यकक्षमा प्रचण्डले विपक्षी दलहरुसँग छलफल गरिरहेका हुन् । यस अघि माओवादी केन्द्रको पदाधिकारी बैठकले विहिबार संसद्को अवरोध खुलाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको थियो ।माओवादी केन्द्र गृहमन्त्रीको राजीनामाको मागमा लचक भएको अन्य विपक्षीले आरोप लगाइरहेका छन् । माओवादी केन्द्रले संसदमा गृहमन्त्रीलाई बोल्न दिने र भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गरेर यो विषयको ‘सेफ ल्यान्डिङ’ खोजेको एक कांग्रेस नेताले एभरेष्ट न्यूज एजेन्सीसँग बताए ।तर सत्ता पक्ष भने हाल भिजिट भिसा प्रकरणको अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन आवश्यक नरहेको अडानमा रहेको छ ।
प्रतिक्रिया