कांग्रेसले घले समूहको एनआरएन अधिवेशनमा चासो देखाएन, नेताहरुले अधिवेशनको नाम समेत उच्चारण गरेनन्

  नेपाली सन्देश डट कम | १९ बैशाख २०८२, शुक्रबार ०५:३८

काठमाडौँ — नेपाली कांग्रेसले हाल काठमाडौँमा जारी घले समूहको गैरआवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशनप्रति चासो नदेखाएको छ। बिहीबार कांग्रेस मुख्यालय सानेपामा बसेको प्रवासी नेपालीसँग सम्बन्धित छलफल कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहे पनि उनीहरुले महाधिवेशनबारे कुनै प्रतिक्रिया जनाएनन्, नामसम्म उच्चारण गरेनन्।

‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले प्रवासी नेपालीलाई स्वदेशमै लगानी र सीप उपयोग गर्न आग्रह गरे। उनले समृद्धिको लक्ष्य हासिल गर्न राज्यको सबै निकायले अनुकूल वातावरण बनाउनुपर्ने बताए।

कार्यक्रममा उपसभापति धनराज गुरुङ, पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरु विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला, प्रवक्ता डा. प्रकाशशरण महत, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रवासी नेपालीसम्बन्धी धारणा राखे। नेताहरुले प्रवासी नेपालीको समस्या समाधान, अधिकार सुनिश्चितता र लगानीमैत्री वातावरणबारे कुरा गरे पनि एनआरएनएमा हाल देखिएको विवाद र घले समूहको नेतृत्वमा भइरहेको महाधिवेशनबारे कुनै उल्लेख गरेनन्।

कार्यक्रममा सहभागी एनआरएनए र जनसम्पर्क समितिका केही नेताहरुले एनआरएनएलाई एकताबद्ध बनाउन कांग्रेसको भूमिका आवश्यक रहेको धारणा राखे। तर कांग्रेस नेतृत्वले स्पष्ट रुपमा त्यस विषयमा न बोल्नु महाधिवेशनप्रति पार्टीको दूरीलाई संकेत गरेको देखिन्छ।

यसले कांग्रेसको आधिकारिक धारणा के हो भन्नेबारे अन्योल थपिएको छ। घले समूहको अधिवेशनमा कांग्रेस निकट नेताहरु व्यक्तिगत रुपमा सहभागी भइरहेका भए पनि पार्टीले संस्थागत रुपमा सहभागिता नजनाउनुले पार्टीभित्रै मतभेद वा सतर्कता रहेको अनुमान गरिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?