सर्वोच्च अदालतको आदेश : कांग्रेस महामन्त्री गगन थापासँग लिखित जवाफ माग

  नेपाली सन्देश डट कम | १६ बैशाख २०८२, मंगलवार २२:४७

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग गर्दै आदेश जारी गरेको छ। मंगलबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले थापाले दिएको अभिव्यक्तिका विषयमा लिखित जवाफ पेश गर्नुपर्ने आदेश दिएको हो।

थापाले ५२ पदाधिकारीसम्बन्धी मुद्दा अदालतले “हान्दिउँ भन्दै रोकेर राखेको” भन्ने अभिव्यक्ति दिएका थिए, जुन विषयमा अदालतले स्पष्टीकरण मागेको हो। उक्त अभिव्यक्ति अदालतको अवहेलना ठहर हुने भन्दै अधिवक्ता अनन्तराज लुइँटेलसहितले गत आइतबार सर्वोच्चमा अवहेलनासम्बन्धी निवेदन दर्ता गराएका थिए। निवेदन एकैपटक संयुक्त इजलासमा पुगेको हो।

सर्वोच्च अदालत प्रशासनले उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि मंगलबार (वैशाख १६) मा पेशी तोकेको थियो। प्रारम्भिक सुनुवाइपछि थापालाई लिखित रूपमा जवाफ दिन आदेश दिइएको हो। उनले आफैं उपस्थित भएर वा आफ्ना कानुनी प्रतिनिधिमार्फत जवाफ पेस गर्न सक्नेछन्।

यसमध्ये कुन विकल्प रोज्ने भन्ने कुरा अदालतको आदेशको पूर्णपाठ सार्वजनिक भएपछि स्पष्ट हुनेछ। अदालतले अभिव्यक्तिको संवैधानिक सीमा, स्वतन्त्रता र न्यायपालिकाको सम्मानबीच सन्तुलन खोज्ने प्रयास स्वरूप यो आदेश दिएको मानिएको छ।

थापाको अभिव्यक्तिले पछिल्लो समय सार्वजनिक तथा राजनीतिक वृत्तमा पनि चर्चा पाएको थियो। अदालतको यो निर्णयले राजनीतिक अभिव्यक्तिका सीमाबारे थप बहस सुरु हुने देखिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?