उच्चस्तरीय भेटघाटमा व्यस्त
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय पदाधिकारीहरू पछिल्ला दिनमा काठमाडौंमा सक्रिय देखिएका छन्। संघका अध्यक्ष डा. बद्री केसीको निर्देशनमा उनीहरू नेपाल आएर विभिन्न राजनीतिक तहमा लबिङ र समन्वयमा जुटिरहेका छन्।
संघका केन्द्रीय सदस्य तथा पत्रकार चिरन शर्माका अनुसार, संसदको अधिवेशन आह्वान भएपछि एनआरएन नागरिकता, एनआरएन ऐन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउन पदाधिकारीहरू काठमाडौंमा भेला भएका हुन्।
यसबीच, एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले आउँदो मे ३ मा ‘एकता अधिवेशन’ गर्ने घोषणा गरेपछि संघका पदाधिकारीहरूको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, पत्रकार शर्माले घलेको कार्यक्रम र वर्तमान पदाधिकारीहरूको आगमनबीच कुनै समन्वय नभएको र यो संयोग मात्रै भएको दाबी गरेका छन्।
उनका अनुसार, एनआरएनएको नाम र लोगो प्रयोग गरी विगतदेखि नै विभिन्न समूहहरूले भेला आयोजना गर्दै आएका छन्, र घलेद्वारा प्रस्तावित अधिवेशन पनि त्यही श्रेणीमा पर्दछ। शर्माले संघको १२औं महाधिवेशन आगामी अक्टोबरमा हुने जानकारी दिए। उनले फेसबुक वा पोस्टरमा उल्लेख हुने ‘एकता’भन्दा पनि व्यवहारिक रूपमा सबैपक्षीय समावेशी एकता कायम गर्न नसके संघ विभाजनतिर जान सक्ने चेतावनी दिए। शेष घलेको चाहना बिना संस्थापन पक्षसँग सहकार्य वा वार्ताको सम्भावना न्यून रहेको पनि उनले स्पष्ट पारे।
यसअघि संघका पदाधिकारीहरूले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग उच्चस्तरीय भेट गरेका छन्।
एनआरएनए अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको टोलीले सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई संघभित्रको विवादबारे जानकारी गराउँदै समाधानको पहल गर्न आग्रह गरेको थियो। संघका उपमहासचिव सोम सापकोटाका अनुसार, नागरिकता, लगानी र संघभित्रको आन्तरिक समस्याबारे छलफल गरिएको हो।
“पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा विधानविपरीत अधिवेशन गरिँदैछ भन्ने कुरा पनि उठाएका छौं,” सापकोटाले भने, “त्यस्ता क्रियाकलापले संघलाई थप कमजोर बनाउन सक्छ, त्यसैले हामीले सहजीकरणको आग्रह गरेका हौं।”
एनआरएनएको टोलीले सोमबार राष्ट्रपति, प्रधानमन्त्री लगायत प्रमुख नेताहरूसँग भेट गर्ने कार्यक्रम तय गरेको छ। उनीहरूले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गरी वर्तमान अन्यौल हटाउन पहल गरिने जानकारी दिएका छन्।
प्रतिक्रिया