काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक सदस्य रामप्रताप थापाले आगामी मे ३ मा हुने भनिएको ‘एकता महाधिवेशन’मा आफू सहभागी नहुने स्पष्ट पारेका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै थापाले व्यक्तिगत आग्रह, पूर्वाग्रह वा रणनीतिक लाभका लागि संस्थाको विधान विपरीत गरिने कुनै पनि महाधिवेशन वा भेलामा आफू सहभागी नहुने बताएका हुन्।
“संस्थामा उत्पन्न असहज परिस्थितिप्रति गम्भीर चिन्ता”
थापाले नेपालको समृद्धिको दूरदृष्टिसहित स्थापना गरिएको एनआरएनए २२ औँ वर्षमा प्रवेश गरेको यो महत्वपूर्ण मोडमा संस्थाभित्र उत्पन्न असहज परिस्थितिले आफूलाई गम्भीर चिन्तित बनाएको बताएका छन्।
“दुवै फैसला मानेर अघि बढौं”
उनले सर्वोच्च अदालतले संघको आन्तरिक विषयमा दिएको दुई ऐतिहासिक निर्णयलाई आत्मसात गर्दै एकताको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। “दुर्भाग्यवश ती निर्णयहरूलाई आ–आफ्नै स्वार्थअनुसार तोडमोड गरी व्याख्या गरिएको छ,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
थापाले मे ३ मा आयोजना हुन लागेको भनिएको ‘एकता महाधिवेशन’प्रति कुनै संलग्नता नरहेको भन्दै उक्त विषयमा भ्रममा नपर्न सबैमा आग्रह गरेका छन्।
“घले नेतृत्वको निर्णय वैधानिक छैन”
उनले शेष घले संयोजक रहेको उच्चस्तरीय समितिबाट गरिएको निर्णयहरूमा आफू सहमत नरहेको र ती निर्णयहरूलाई आफूले वैधानिक मान्दैन भनेका छन्। “पूर्व पदाधिकारी, राष्ट्रिय समिति, संस्थापक तथा वर्तमान कार्यसमितिको समेत सहभागिता बिना आयोजना हुन लागेको महाधिवेशन न केवल विधानविपरीत, संघको आत्मासँग समेत प्रतिकूल छ,” थापाले आरोप लगाए।
“नाम र तस्वीरको दुरुपयोगप्रति गहिरो आपत्ति”
थापाले उच्चस्तरीय समितिमा आफ्नो नाम र तस्वीरको दुरुपयोग गरिएको भन्दै सामाजिक सञ्जाल, समाचार माध्यम तथा इमेलमार्फत भ्रम फैलाइएकोप्रति गहिरो आपत्ति जनाएका छन्।
“आग्रह, पूर्वाग्रह त्यागेर एकता गरौं”
संस्थाको स्थापना कालदेखि नेतृत्वको आकांक्षा त्यागी एकताको पक्षमा आफू सधैं इमान्दार र लचिलो रहेको उल्लेख गर्दै थापाले भनेका छन्, “व्यक्तिगत आग्रह, पूर्वाग्रह वा रणनीतिक लाभका लागि संस्थाको विधान कुल्चेर गरिने कुनै पनि महाधिवेशन वा भेलामा मेरो सहमति हुने छैन।”
दीर्घकालीन एकताका लागि अपिल
थापाले एनआरएनएको विधान, सर्वोच्च अदालतका निर्णयहरूको मर्म र भावना अनुरूप संघमा दीर्घकालीन र समावेशी एकता स्थापना होस् भन्ने आकांक्षासहित नेपाल सरकार तथा विदेशस्थित सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई हार्दिक अपिलसमेत गरेका छन्।
प्रतिक्रिया