१५ महिनामा ६९ अमेरिकी देश निकाला

  नेपाली सन्देश डट कम | ६ बैशाख २०८२, शनिबार ०६:३३

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनमा सहभागी भएर सरकारको विरोध गरेका अमेरिकी नागरिक जुलियन किर्पाललाई देश निकाला (डिपोर्ट) गरिएको छ। उनलाई अब २ वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइएको छ।

उनको पासपोर्ट पनि नेपालको अध्यागमन विभागले कालोसूचीमा राखेको छ। अब प्रतिबन्ध सकिएपछि नेपाल आए पनि उनको रेकर्ड अध्यागमनमा देखिनेछ।

जुलियन चैत १४ गतेको राप्रपाको प्रदर्शनमा सहभागी भएर सरकारविरुद्ध नारा लगाएपछि पक्राउ परेका थिए। सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो। त्यसको विरोधमा राप्रपाले प्रदर्शन गरेको थियो। सोही प्रदर्शनमा उनले सरकारविरुद्ध नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए।

पक्राउपछि प्रहरीले आवश्यक कारबाहीका लाागि अध्यागमन विभागमा बुझाएको थियो। अध्यागमन विभागले अनुसन्धान गर्दा उनी पर्यटन भिसामा नेपाल आएको खुलेको थियो।

तर घुम्न भनेर नेपाल आएका उनी राजनीतिक गतिविधिमा भेटिएपछि कारबाहीमा परेका हुन्।

गएको फागुन ३ गते अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुक लैजान लागेको आरोपमा अमेरिकी नागरिक ४६ वर्षीया नी यान पक्राउ परिन्।

बाटिक एयरबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गर्‍यो। सुरक्षाकर्मीले जाँच गर्दा उनको झोलाबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रूपियाँ, १ सय मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ वटा, सिम कार्ड २८ थान र मेमोरी कार्ड १२२ वटा फेला परेको थियो।

उनीविरुद्ध विदेशी मुद्रा अपचलनको मुद्दा दायर भयो। चैतमा उनलाई गृहसचिव स्तरबाट देश निकाला गर्ने निर्णय भयो। अब उनलाई तीन वर्ष नेपाल प्रवेश गर्न निषेध गरिएको छ।

अर्का अमेरिकी नागरिक मुस्ताङको लोमान्थाङमा भेटिए। जहाँ पुग्न विदेशी नागरिकलाई अनुमतिबिना निषेध छ। तर ती अमेरिकी पुरुषसँग अनुमति थिएन। प्रहरीले उनलाई पनि प्रक्राउ गरेर अध्यागमन विभाग डिल्लीबजारमा बुझायो। अनुमति नलिई गएको पाइएपछि उनलाई पनि डिपोर्ट गरिएको छ। उनलाई एक वर्ष नेपाल आउन रोक लगाइएको छ।

अध्यागमन विभागका अनुसार सन् २०२४ यता शुक्रबारसम्म (अप्रिल १८) सम्ममा नेपालबाट ६९ जना अमेरिकी डिपोर्ट भइसकेका छन्। सन् २०२४ मा ५३ जना र सन् २०२५ को अप्रिल १८ सम्ममा १६ जनालाई डिपोर्ट गरिएको अध्यागमन विभागको तथ्यांक छ।

अध्यागमन ऐन, २०४९ को उल्लंघन गरेमा यस्ता कारबाहीमा पर्ने अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले बताए। विभागका अनुसार विगत साढे १५ महिनामा नेपालबाट ६३६ जना विदेशी डिपोर्ट भएका छन्। डिपोर्ट हुनेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन्।

यो अवधिमा २३६ जना चिनियाँ नागरिकलाई डिपोर्ट गरिएको छ। पाकिस्तानी ३५ जना र बंगलादेशी ७३ जनालाई डिपोर्ट गरिएको छ। अरु अन्य देशका छन्। डिपोर्ट हुनेमा अधिकांश भिसाको म्याद नाघिसकेकाहरू रहेको महानिर्देशक रिजालले बताए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?