प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल शिक्षक महासङ्घका पदाधिकारीबीच आज शिक्षक आन्दोलन र समस्याको समाधानका विषयमा बालुवाटारमा छलफल भएको छ।
विद्यालय शिक्षा विधेयक, २०८१ तुरुन्त पारित गर्नुपर्ने मागसहित महासङ्घको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौँमा आन्दोलन गरिरहेका छन्। प्रधानमन्त्री ओलीले जायज मागबारे गृहकार्य गरी वार्ताबाट समाधान खोज्न चैत २५ मा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईलाई निर्देशन दिएका थिए।
वैशाख २ को मन्त्रिपरिषद् बैठकले विधेयक पारित गर्न वैशाख १२ मा संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। सरकारले महासङ्घका मागप्रति संवेदनशील रहँदै संवाद जारी राखेको र विद्यालय भर्ना, एसइइ उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यानमा राखी आन्दोलन फिर्ता गरेर विद्यालय फर्कन शिक्षकलाई आग्रह गरेको छ।
बालुवाटारमा भएको छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।
प्रतिक्रिया