नेपाली सेनाका सहायक रथी रोशन खड्कालाई अनुसन्धानका लागि सैनिक हिरासतमा राखिएको छ।
कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा उनलाई सैनिक हिरासतमा राखिएको हो। ‘कल्याणकारी कोषको रकम हिनामिना भएको विषयमा सामान्य सोधपुछ चलिरहेको छ,’ सैनिक उच्च स्रोतले भन्यो। सहायक रथी खड्कालाई बुधबार सैनिक हिरासतमा राखिएको स्रोतको दाबी छ। कोषको सात करोड रुपैयाँ हिनामिना भएको सन्दर्भमा सेनाभित्र छानबिन चलिरहेको छ।
कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा अनियमितता विषयमा महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो। सहायक रथी खड्कालाई सैन्य हिरासतमा लिइएको विषयमा नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव केसीले अनभिज्ञता प्रकट गरे।
‘यो विषयमा मलाई जानकारी छैन,’ उनले भने। महासेनानी सापकोटाको नेतृत्वमा गठित कोर्ट अफ इन्क्वाइरीले तत्कालीन आवास तथा बिमा शाखामा कार्यरत सेनानी समीर गुरुङ, प्युठ टीकाराम गोतामे र जमदार रवीन्द्र लुंगेलीको मिलेमतोमा आर्थिक अलपचन भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो। गुरुङ भने विदेश पुगिसकेको स्रोतले जनाएको छ।
प्रतिक्रिया