गगनको अभिव्यक्तिले एमालेमा तरंग, देउवासँग वार्ता गर्ने

  नेपाली सन्देश डट कम | २ बैशाख २०८२, मंगलवार ००:५१

काठमाडौँ — कांग्रेस नेताहरूको सरकारप्रति असन्तुष्टि र नयाँ गठबन्धन बनाउन कांग्रेसलाई निःसर्त समर्थन गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति सार्वजनिक भएसँगै सत्तारूढ दल एमाले सशंकित भएको छ ।

एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारको कार्यशैली लगायतका विषयमा बढेको असन्तुष्टिलाई लिएर कांग्रेससँग राजनीतिक संयन्त्रमा छलफल गर्ने निर्णय गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग वार्ता गर्ने तयारी थालेको एमाले नेताहरूको भनाइ छ ।

कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामकारबाहीप्रति खुलेरै असन्तुष्टि जनाउन थालेपछि एमालेले त्यसको समाधानका लागि संयन्त्रमा छलफल गर्ने निर्णय गरेको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताए ।

‘कांग्रेसभित्रको एउटा पंक्तिले पहिलैदेखि नै सरकारप्रति असन्तुष्टि जनाउँदै आएको हो, कांग्रेस सभापति देउवा दुई दलबीच भएको सहमतिप्रति दृढ हुनुहुन्छ, सरकारप्रति आशंका भए उच्च राजनीतिक तहमा छलफल गर्ने कुरा भएको छ,’ पोखरेल भन्छन् ।

‘कांग्रेस सभापति शेरबहादुरजी सहमतिमा दृढ हुनुहन्छ । कांग्रेस, एमाले समझदारी तलमाथि भएको छैन । विश्वासको आधार टुटेको छैन,’ राजनीतिक संयन्त्रका सदस्यसमेत रहेका पोखरेलले भने, ‘कांग्रेसको एउटा पंक्तिले पहिलेदेखि नै सरकारप्रति असन्तुष्टि जनाउँदै आएको छ । केही प्रश्न भने राजनीतिक संयन्त्रमा छलफल गर्ने कुरा भएको छ ।’

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा आफैंले नेतृत्व गरेको राजनीतिक संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा सदस्य छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सदस्य छन् ।

प्रमुख प्रतिपक्ष दलका नेता दाहालले ‘सरकार ढल्छ’ भन्नु नौलो नभएको उल्लेख गर्दै सत्ताबाट बाहिरिएको तुष बाँकी नै रहेको पोखरेलले बताए । दाहालले सार्वजनिक कार्यक्रममा ओली सरकार ढल्ने ‘नयाँ आधार बनिसकेको’ दाबी गरेपछि कांग्रेसका केही नेताको भूमिकाप्रति एमाले संशकित भएको छ । ओलीले कांग्रेस सभापति देउवासँग यसबारे छलफल गर्ने तयारी थालेका छन् । कांग्रेसकै संस्थापन नेताबाट सरकारको कार्यशैलीको आलोचना हुन थालेपछि ओलीले देउवाको धारणा बुझ्न चाहेको एमाले स्रोतको भनाइ छ ।

‘संयन्त्रमा रहेका कांग्रेस नेताले सार्वजनिक रूपमा सरकारको आलोचना गर्नु कति उचित हो ? यसबारे दुई शीर्ष नेता र संयन्त्रमा कुराकानी हुन जरुरी हुन्छ,’ एमालेका एक नेता भन्छन्, ‘सार्वजनिक खपतका लागि सरकारको आलोचना हो कि गम्भीर समस्या हो ? निर्क्योल गर्नुपर्छ ।’

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा कांग्रेस र एमालेबीच मतभेद देखिएको छ । दुई दलीय सिफारिस समिति बने पनि गभर्नर नियुक्तिमा कुरा मिल्न सकेको छैन । कांग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री आरजु राणाको जोडबलमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सहमत भएका ओली गभर्नर नियुक्तिमा भने आफू निकटका व्यक्ति नियुक्त गर्ने पक्षमा छन् ।

२०८४ को निर्वाचनसम्म सरकारमा नबस्ने बताउँदै आएका दाहालले सत्तातिर नजर लगाउन थालेका छन् । त्यसका लागि उनले निःसर्त कांग्रेसलाई समर्थन गर्ने सार्वजनिक रूपमै बताउन थालेका छन् । उनले आइतबार चितवनमा ओली सरकार लामो समय नजाने ठोकुवा गर्दै त्यसको धरातल बनिसकेको दाबी गरे । कांग्रेस सभापति देउवा एमालेसँग गठबन्धन तोड्न तयार भए निःसर्त समर्थन गर्ने सन्देश दाहालले पठाएका छन् । यसबारे देउवाको धारणा सार्वजनिक भइसकेको छैन ।

त्यसअघि इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा उनले राजनीतिक कोर्स परिवर्तन सपना देखेको नभई यथार्थमा भएको बताएका थिए । ‘यो सपना होइन, विपना हो,’ दाहालले भनेका थिए, ‘राजनीतिक कोर्स परिवर्तन हुन सक्छ । सरकारको नेतृत्व ठूलो पार्टी र शान्ति सम्झौता हस्ताक्षर हुनुको नाताले भनेको हो । मेरो देउवा (शेरबहादुर) सँग विश्वास छ । देउवाले केपी ओलीजीजस्तो जालझेल गर्नुहुन्न ।’ उनले सरकार परिवर्तनको समय तोक्न नचाहने तर कुनै पनि बेला सरकार परिवर्तन हुने दाबी गरे ।

दाहालले अबको राजनीतिक कोर्स भनेको कांग्रेस र शान्ति सम्झौताका सहयात्री एक ठाउँमा आएर सहमति खोज्नु नै राम्रो विकल्प भएको बताएका थिए । ‘सबभन्दा ठूलो दलको नाताले पनि, शान्ति सम्झौताको हस्ताक्षर दलको नाताले पनि, कांग्रेसले निकास दिन आँट गर्नुपर्छ,’ इमेज टेलिभिजनको अन्तर्वार्तामा कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने माओवादीले सहयोग गर्छ ? भन्ने प्रश्नमा दाहालले भने, ‘गर्छ । त्यो कांग्रेसको जस्तो चाहना हुन्छ, त्यहीअनुसार गर्छ । यो कुरा एकदम क्लियर हो । कांग्रेसले बाहिरबाट सपोर्ट गर्देऊ भने पनि हामी तयार । सरकारमा आएर सपोर्ट गर भनेर कांग्रेसले भन्यो भने पनि उहाँहरूको भनाइअनुसार हुन्छ ।’

सोमबार एमाले सचिवालय बैठकले कांग्रेसभित्र असन्तुष्टि भए पनि कांग्रेस सभापति देउवामाथि विश्वास भएकाले सरकार ढलिहाल्ने अवस्था नभएको निष्कर्ष निकालेको छ । ‘सरकारका कामलाई प्रभावकारी ढंगले अघि बढाउन कांग्रेससँग छलफल गर्ने सचिवालयमा छलफल भयो,’ उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘प्रचण्ड कांग्रेसभित्र खेल्न खोजेको भए पनि सरकारको अवस्था तलमाथि छैन ।’

सरकार आफैंले अपेक्षित रूपमा काम भएको बताउँदै आएको उल्लेख गर्दै कामको गति बढाउँदै लगेको उनले बताए । कांग्रेसका केही मन्त्रीको कामप्रति प्रधानमन्त्री ओली असन्तुष्ट छन् । काम नगर्ने मन्त्रीलाई हटाउन ओलीलाई सुझाव आए पनि सत्ता गठबन्धनकै कारण उनले मन्त्री फेर्न सकेका छैनन् ।

‘काम नगर्ने मन्त्रीलाई फेर्न सुझाव प्रधानमन्त्रीलाई दिए पनि कांग्रेस सभापति देउवाका कारण हुन सकेको छैन,’ एमालेका एक पदाधिकारीले भने, ‘त्यसकारण सरकारले भनेजस्तो काम गर्न सकेको छैन । आलोचना तीव्र गतिमा हुँदै आएको छ ।’

एमाले सचिवालय बैठकले नेकपा स्थापना दिवसका अवसरमा वैशाख ९ मा काठमाडौंमा बृहद् कार्यकर्ता भेला र वैशाख ११ मा ४० वर्षमुनिका युवाको सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?