चालु आर्थिक वर्षको फागुनसम्म मुद्रास्फीति ३.७५ प्रतिशतमा सीमित, राष्ट्र बैंकको प्रतिवेदन

  नेपाली सन्देश डट कम | २७ चैत्र २०८१, बुधबार २१:३६

काठमाडौं — चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म देशको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक (CPI) मा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आठ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार यो दर वाञ्छित सीमाभित्रै रहेको देखिएको छ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहमा मुद्रास्फीति ३.३४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहमा यो ३.९७ प्रतिशत पुगेको छ।

खाद्य तथा पेय समूहअन्तर्गत घ्यू तथा तेलमा सबैभन्दा उच्च १३.७४ प्रतिशतले मूल्य वृद्धि भएको छ। दाल तथा गेडागुडीमा ७.८०, फलफूलमा ६.८२ र गैर–मदिराजन्य पेय पदार्थमा ५.१५ प्रतिशत वृद्धि देखिएको छ। तर, मरमसला, तरकारी र माछा/मासुको मूल्यमा क्रमशः ५.१७, १.२४ र ०.७४ प्रतिशतको गिरावट आएको छ।

गैर–खाद्य समूहतर्फ विविध वस्तु तथा सेवामा १०.१४ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ७.०१, मदिराजन्य पेय पदार्थमा ६.०७, फर्निचर तथा घरायसी सामानमा ५.५९ र यातायात क्षेत्रमा ५.०७ प्रतिशत मूल्यवृद्धि भएको छ।

ग्रामीण र सहरी क्षेत्रमा फरक मुद्रास्फीति:
ग्रामीण क्षेत्रमा मुद्रास्फीति ४.१८ प्रतिशत पुगेको छ भने सहरी क्षेत्रमा ३.६० प्रतिशतमा सीमित भएको छ।

प्रदेशगत अवस्था यस्तो छ:

  • कोशी: ५.६८%
  • मधेश: ३.५२%
  • बागमती: २.९८%
  • गण्डकी: २.७७%
  • लुम्बिनी: ३.७७%
  • कर्णाली: ३.८०%
  • सुदूरपश्चिम: ४.४१%

भौगोलिक क्षेत्र अनुसार:

  • काठमाडौं उपत्यका: ३.२५%
  • तराई: ३.७७%
  • पहाड: ३.७२%
  • हिमाल: ४.७७%

राष्ट्र बैंकको प्रतिवेदनले महँगीको अवस्था हालसम्म सन्तोषजनक रहेको संकेत गरेको छ, तर केही वस्तु तथा सेवाको मूल्य उल्लेख्य रुपमा बढेकोले सावधानी अपनाउनुपर्ने देखिन्छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?