काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेद्वारा आह्वान गरिएको ‘एकता महाधिवेशन’ बाट कतारका व्यवसायी तथा माओवादी निकट आरके शर्मा अध्यक्ष बन्ने सम्भावना बलियो बनेको छ।
आगामी मे ३ देखि काठमाडौंमा सुरु हुने महाधिवेशनका लागि सोमबारसम्म सदस्यता दर्ता सम्पन्न भएको छ। घले समूहले जारी गरेको कार्यविधिअनुसार यही मिति अगावै सदस्यता लिएका व्यक्तिहरूले मात्र उम्मेदवारी दिन र मतदान गर्न पाउने व्यवस्था छ। सोही आधारमा प्राप्त पछिल्ला तथ्यांकहरू अनुसार आरके शर्मा नेतृत्वमा जान सक्ने अनुमान गरिएको हो।
कतारमा मात्र ३,४३७ सदस्यता वितरण भएको छ। मध्यपूर्व, मलेसिया र नेपालबाट करिब ६० प्रतिशत सदस्यता वितरण भएको देखिन्छ, जसले शर्माको पकड बलियो देखिएको छ। धेरै नेपालीहरू नेपाल विदामा आउँदा सदस्यता दर्ता भएकोले मतको बहुमत पनि सो क्षेत्रमै केन्द्रित हुने प्रक्षेपण गरिएको छ।
शर्मा यसअघि संघको निर्वाचनमा डा. बद्री केसीसँग पराजित भएका थिए। उनी नेकपा माओवादी केन्द्र निकट नेता समेत हुन्।
दोस्रोतर्फ, शेष घले समूहको प्रभावक्षेत्रमा भने कमजोर उपस्थिति देखिएको छ। अष्ट्रेलियाबाट १७ हजार सदस्यता रहेको अघिल्लो कार्यकालको तुलनामा यसपटक मात्र १९९ सदस्यता दर्ता भएको छ।
बेल्जियममा अघिल्लो पटक २,५७३ जनाले १० युरो तिरेर सदस्यता लिएका थिए भने यसपटक निःशुल्क वितरण हुँदाहुँदै पनि केवल २१६ जनाले नाम दर्ता गराएका छन्। नेदरल्याण्डमा नारायण आचार्य र शशी पौडेलको समूहबाट मात्र ९१ सदस्यता दर्ता भएको छ।
संघको अध्यक्ष पदका संभावित उम्मेदवार डा. केशव पौडेलको प्रभावक्षेत्र अमेरिका हुँदै ७८३ सदस्यता मात्र दर्ता भएको छ। बेलायतबाट कुल आचार्य नेतृत्वको समूहले ३९९ सदस्यता दर्ता गराएका छन्। युरोपभर हालसम्म करिब ४ हजार सदस्यता दर्ता भएकोमा २ हजारभन्दा बढी सदस्यता पोर्चुगलबाट मात्र दर्ता भएको तथ्यांक छ।
दक्षिण कोरियामा भने घले समूहका विनोद कुँवरले उल्लेखनीय सदस्यता दर्ता गराउन सफल भएका छन्।
संघमा नेतृत्वको दौड तीव्र बनेका बेला सदस्यता वितरणमा देखिएको असमान सहभागिताका आधारमा आरके शर्मा अध्यक्ष बन्ने दिशामा अघि बढेको आँकलन गरिएको छ।
प्रतिक्रिया