पश्चिम नेपाल भूकम्प र मनसुनजन्य विपद्पछिको पुनर्निर्माण योजनाको समीक्षा, वन डढेलो नियन्त्रणमा जोड

  नेपाली सन्देश डट कम | २५ चैत्र २०८१, सोमबार २०:३९

काठमाडौं, वैशाख २५ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १७औँ बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापना योजनाको कार्यान्वयन अवस्थाको विस्तृत समीक्षा गरिएको छ।

बैठकमा गत पुस २८ गते सम्पन्न १६औँ बैठकबाट स्वीकृत योजनाको पछिल्लो कार्यान्वयन प्रगति प्रस्तुत गरिएको थियो। जानकारी अनुसार, योजना स्वीकृतिपछि गत माघ २ गतेदेखि लाभग्राहीहरूसँग सम्झौता प्रक्रिया सुरु भई पुनर्निर्माण कार्य औपचारिक रूपमा थालिएको थियो।

बैठकले योजनामा छुटिएका संरचनाहरूको पुनर्निर्माणका लागि प्राप्त प्रस्तावहरूलाई सम्बन्धित मन्त्रालयबाट यथार्थ पुनरावलोकन गरी आवश्यकता र प्राथमिकताका आधारमा समावेश गर्ने निर्णय पनि गरेको छ।

साथै, वन डढेलोका कारण सिर्जित वायु प्रदूषणको गम्भीरतालाई मध्यनजर गर्दै डढेलो रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तहलाई आवश्यक निर्देशन जारी गरिएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनर्निर्माण तथा पुनःस्थापनामा प्राथमिकता दिइएका क्षेत्रहरूमा सडक तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत् र वैकल्पिक ऊर्जा, सिँचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी, सरसफाइ तथा स्वच्छता, र पुरातात्विक संरचनाहरूलाई समावेश गरेको जनाएको छ।

स्मरणीय छ, सोह्रौँ बैठकले डोटी र जाजरकोट केन्द्रविन्दु भएका भूकम्पपछिको क्षति मूल्याङ्कन, निजी आवास पुनर्निर्माण तथा प्रबलीकरण प्रक्रिया सुरु गर्ने निर्णय लिएको थियो।

बैठकमा प्रधानमन्त्री ओलीले पुनर्निर्माण कार्यमा तीव्रता आवश्यक रहेको भन्दै प्राधिकरणलाई गतिशील बनाउनेतर्फ जोड दिए। साथै, उनले विपद् व्यवस्थापनका क्रममा उद्धार तथा राहत कार्यमा गृह मन्त्रालय र सुरक्षा निकायलाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिए।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, विभिन्न मन्त्रालयका मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?