काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यको समृद्धिको आधार व्यवसाय र उद्योग रहेको बताएका छन्। शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समुद्घाटन समारोहमा बोल्दै उनले व्यवसाय धरापमा परे राज्य पनि संकटमा पर्नेसमेत उल्लेख गरे।
उनका अनुसार, ‘जब व्यवसाय फस्टाउँछ, तबमात्र राज्य फस्टाउँछ।’ राज्य र व्यवसायबीचको सम्बन्धबारे बुझाइ सत्ता र सत्ताबाहिर हुँदा फरक देखिने गरेको उल्लेख गर्दै उनले राजनीतिक वृत्तमा व्यवसायीप्रति अझै पनि भ्रान्तिपूर्ण दृष्टिकोण रहेको बताए।
मन्त्री भण्डारीले वस्तुभन्दा जनशक्ति निर्यातलाई दीर्घकालीन रुपमा स्वीकार्य नहुने धारणा व्यक्त गरे। उनले भने, “जनशक्ति होइन, वस्तु निर्यातमा ध्यान दिनुपर्ने अवस्था आएको छ। त्यसका लागि उद्योग जोगाउनुपर्छ, व्यवसाय बढाउनुपर्छ।”
उनले नेपालमा रोजगारी सिर्जना गर्न उद्योग र व्यवसायको विकास अपरिहार्य रहेको स्पष्ट पारे। “उद्योग र व्यवसाय नभए रोजगार कहाँबाट आउँछ? व्यवसायले मुनाफा कमाउँछ, त्यसपछि मात्रै रोजगारी सिर्जना हुन्छ,” उनले भने।
भण्डारीले देशको अर्थतन्त्रमा आएको संकुचनप्रति चिन्ता व्यक्त गर्दै उद्योगीहरूसँग काम गर्दा नेताहरूमाथि दलालको आरोप लाग्ने प्रवृत्तिलाई पनि खेदजनक भने। उनले उद्योग र व्यवसायको सुदृढ विकासमार्फत मात्र देश समृद्ध बन्नेमा जोड दिए।
प्रतिक्रिया