काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरण गर्न सरकार गम्भीर रूपमा लागेको बताएका छन्।
महिला पुनःस्थापना केन्द्र (ओरेक)ले आज वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्काल घोषणा गरी तत्काल नियन्त्रणका उपाय कार्यान्वयन गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएपछि मन्त्री शाहीले पछिल्लो एक सातादेखिको प्रदूषण हटाउन सरकार योजनाबद्ध पहलमा जुटेको स्पष्ट पारे।
ओरेकले अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने, वातावरणीय नियम कडाइका साथ कार्यान्वयन गर्ने, महिला र सीमान्तकृत समुदायमाथि पर्ने असमानुपातिक असरलाई सम्बोधन गर्ने लैङ्गिक–उत्तरदायी नीति ल्याउनुपर्ने लगायतका माग राखेको थियो। साथै, वायु गुणस्तर सुधार, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, सहरी हरियाली विस्तार र छिमेकी राष्ट्रसँग क्षेत्रीय सहकार्य आवश्यक रहेको समेत ओरेकले जनाएको छ।
संस्थाले काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्युआइ) निरन्तर ‘अति अस्वस्थकर’ सीमाभन्दा माथि पुगेको भन्दै बालबालिका, गर्भवती महिला, स्तनपान गराइरहेका आमा, ज्येष्ठ नागरिक र सडकमा श्रम गर्ने श्रमिकहरू गम्भीर स्वास्थ्य जोखिममा परेको चेतावनी दिएको छ।
ओरेकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत ध्यानाकर्षण गराएको छ।
प्रतिक्रिया