काठमाडौं । तराई-मधेस केन्द्रित दुई प्रमुख राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा जुटेका छन्।
नेताहरूका अनुसार पार्टी एकीकरणपछि राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउने उद्देश्य राखिएको छ। दुवै पार्टीले गठन गरेका कार्यदलहरू सहमतिका बुँदा तय गर्न निरन्तर बैठक गर्दै आएका छन्।
जनमत पार्टीका उपाध्यक्ष एवं कार्यदल संयोजक अब्दुल खानका अनुसार वैशाख १५ भित्रै एकीकरणको घोषणा हुने योजना छ। “नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव चिह्न टुंगो लागेको छ। अहिले विधान तयार गर्ने काम भइरहेको छ भने पदाधिकारी टुंग्याउन मात्रै बाँकी छ उनले भने।
संयोजक खानले वैशाखको पहिलो सातामा दुवै पार्टीका केन्द्रीय समितिले एकीकृत विधान पारित गर्ने र दोस्रो साता औपचारिक एकीकरण घोषणा गरिने जानकारी दिए।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि एकीकरण चाँडै टुंग्याउने गरी छलफल तीव्र भइरहेको बताइन्। “कार्यदल तहमा छलफल लगभग अन्तिम चरणमा छ, त्यसको निचोडअनुसार दुवै पार्टीका शीर्ष नेताहरूले अन्तिम निर्णय लिनेछन्,” उनले भनिन्।
जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार एकीकरणपछि नयाँ पार्टीको अध्यक्ष सिके राउत र सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहने सहमति भइसकेको छ।
२०७५ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको थियो भने २०७८ मा रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। २०७९ को चुनावमा जनमत पार्टीले ६ र नागरिक उन्मुक्ति पार्टीले ४ सिट जितेका थिए।
पार्टी एकीकरणपछि पहिचानवादी शक्ति र आदिवासी जनजातिहरूको मुद्दा थप सशक्त रूपमा उठाउन सकिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया