काठमाण्डौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले शनिबारदेखि थाईल्याण्डको बैंककमा आयोजित दुई दिने सो सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेको गैरआवासीय नेपाली संघले जनाएको छ। प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सो कार्यक्रम बिथोल्न संघका पूर्वअध्यक्ष शेष घले सकृय रहेको पत्र नेपालीसंन्देश डट कमलाई प्राप्त भएको छ।
घलेले गैरआवासीय नेपाली संघ थाईल्याण्डका अध्यक्षलाई एक गोप्य पत्रमार्फत संघलाई एनसीसी महाधिवेशन केन्द्रित कार्यक्रमभन्दा अन्य कार्यक्रम रोक्न निर्देशन दिएका छन्, साथै प्रधानमन्त्री ओलीको सम्बोधन कार्यक्रमलाई अवरोध पुर्याउने प्रयास गरेका छन्। प्रधानमन्त्री ओलीले उद्घाटन सत्रको अन्त्यमा सम्बोधन गर्दै विदेशमा रहेका युवाहरूसँग संवाद गर्ने बताइएको छ। घलेले दिएको निर्देशनलाई पालना नगरेमा, सम्मानित सर्वोच्च अदालतको परमादेश तथा फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनलाई पालना नगरेको ठहर गर्दै कार्यावाहीको लागि सिफारिस गर्ने चेतावनी दिएका छन्।
गैरआवासीय नेपाली संघ थाईल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनको तयारी पुरा भएको र सम्मेलनमा ३० भन्दा बढी देशका तीन सय प्रतिनिधिहरूले सहभागी हुने जानकारी दिएका छन्।
सम्मेलनमा भाग लिन सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, पूर्व मन्त्री तथा सांसद पदम गिरी, सांसद माधव सापकोटा, थाईल्याण्डका लागि नेपाली राजदूत धन बहादुर ओली, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष डा. हेमराज शर्मा, रामशरण सिमखडा लगायत संघका अन्य पदाधिकारीहरू बैंकक पुगेका छन्।
नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाइ, उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने उद्देश्य राखिएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको एनआरएनए ले जनाएको छ।
दोस्रो विश्वयुद्धपछि बर्मा, थाइल्याण्ड, मलेसिया, सिंगापुर, फिजी र मोरिसस जस्ता देशहरूमा ७ लाख नेपाली मूलका युवा पहिचानको खोजी गर्दै नेपालको समृद्धिमा पुस्तौँदेखि जोडिन चाहन्छन्, एनआरएनए पिपुल अफ नेपाली अरिजिन (पिएनओज) का संयोजक कुमार कार्कीले जनाए।
“इम्पावरिङ द युथ, शार्पिङ द पिएनओज फ्युचर” भन्ने मूल नारासँग युवा सम्मेलन आयोजना गर्न लागिएको हो।
सम्मेलन थाइल्याण्डको बैंककमा १५–१६ मार्च २०२५ मा आयोजना गरिनेछ। सम्मेलनको अन्त्यमा बैंकक घोषणापत्र जारी गर्ने तयारी गरिएको छ।
प्रतिक्रिया