हिथ्रो विमानस्थलमा तेस्रो रनवेको तयारी, वार्षिक ८ करोड जनालाई सेवा

  नेपाली सन्देश डट कम | ३ फाल्गुन २०८१, शनिबार ०५:३६

लण्डन । दुई दशकभन्दा बढी समयदेखि विवादमा रहेको बेलायतस्थित हिथ्रो विमानस्थलको तेस्रो धावनमार्ग निर्माण गर्ने योजनामा पुनः बहस सुरु भएको  । बेलायती अर्थमन्त्री रेचल रिभ्सले हालै तेस्रो धावनमार्ग निर्माणमा सरकारको समर्थन रहेको बताएपछि फेरि यसबारे बहस सतहमा आएको हो । रिभ्सले तेस्रो धावनमार्गले देशको दीर्घकालीन आर्थिक वृद्धिमा टेवा पुर्‍याउने, लगानी र निर्यात बढाउने तथा ‘कनेक्टिभिटी’ सुधार गर्ने बताएकी छन् ।

अर्थमन्त्री रिभ्सले विमानस्थल विस्तारले अर्थतन्त्रसमेत सुधार हुने जिकिर गर्दै अक्सफोर्डसायरमा भएको एक कार्यक्रममा उनले हिथ्रोको विस्तार अत्यावश्यक रहेको बताएकी छन् । ‘हिथ्रोमा तेस्रो धावनमार्ग बनाएर बेलायतलाई व्यापारको हब बनाउन सकिन्छ,’ उनले भनेकी छन् । वातावरणविद् तथा केही राजनीतिज्ञले भने विमानस्थल विस्तारको विरोध गरिरहेका छन् ।

विमानस्थलको विस्तारले ध्वनि तथा वायु प्रदूषण बढाउने उनीहरूको भनाइ छ । धावनमार्ग निर्माणले बेलायतको जलवायु सुधारका लक्ष्य पूरा गर्न कठिन हुने विस्तार विरोधीहरूको दाबी छ । यद्यपि रिभ्सले वातावरणीय र जलवायुसम्बन्धी मापदण्ड पालना गरेर निर्माण कार्य अघि बढ्ने दाबी गरेकी छन् ।

हिथ्रो विमानस्थल विस्तारको प्रस्ताव पहिलो पटक २००३ मेमा ‘बीएए पीएसी’ द्वारा ल्याइएको थियो । हिथ्रोको सञ्चालक कम्पनी बीएए पीएसीको प्रस्ताव २००३ कै डिसेम्बरमा बेलायत सरकारले अनुमोदन गरेको थियो । १२ वर्षमा विस्तारको काम सक्ने भनेर योजना बनाइएको थिय । २००७ सम्म आइपुग्दा तत्कालीन प्रधानमन्त्री गोर्डन ब्राउन नेतृत्वको सरकारले हिथ्रो विमानस्थल विस्तारका लागि औपचारिक समर्थन जनाएको थियो ।

तर वातावरणविद्, स्थानीय बासिन्दा र राजनीतिक नेताहरूले भने यसको कडा विरोध गरे । कार्बन उत्सर्जन बढाउने, ध्वनि प्रदूषण गर्ने, आसपासका स्थानीयलाई विस्थापित हुने खतरा रहेको उनीहरूको भनाइ थियो । व्यापक विरोध प्रदर्शन र कानुनी चुनौतीसमेत देखिएको भए पनि सरकारको समर्थन भने कायमै थियो ।

तर सन् २०१० मा डेभिड क्यामरुन नेतृत्वको सरकारले वातावरणीय चिन्ताका कारण देखाउँदै परियोजना रद्द गरियो । त्यसपछि २०१६ मा प्रधानमन्त्री थेरेसा मेले योजना पुनः अघि सारिन् । यद्यपि यसअघि पनि यो विस्तारबारे निरन्तर समीक्षा भए । थेरेसा मेले मेले मुख्यतः आर्थिक लाभलाई औंल्याउँदै धावनमार्ग विस्तारलाई अनुमोदन गरेकी थिइन् ।

२०१८ मा बेलायती संसद्ले आधिकारिक रूपमा तेस्रो रनवेको पक्षमा मतदान गर्‍यो । ४ सय १५ सांसद विस्तारको पक्षमा थिए भने १ सय १९ जनाले विपक्षमा मत दिए । यद्यपि संसद्को स्वीकृतिपछि पनि विमानस्थल विस्तारका कानुनी र वातावरणीय चुनौतीहरू कायम रहे ।

मतदानपछि हिथ्रो विस्तारको योजना अघि बढिरहेकै थियो । तर २०२० मा अदालतले बेलायती जलवायु प्रतिबद्धतासँग बाझिने तर्क गर्दै विस्तारलाई अवैधानिक ठहर गर्‍यो । अदालतको यही निर्णयले सरकारलाई यस परियोजनामा पुनः समीक्षा गर्न बाध्य बनायो । तर २०२१ मा सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याउँदै तेस्रो धानवमार्ग विस्तारका लागि कानुनी बाटो खुलाइदियो । यसपछि बीएए पीएसीले २०२३ मा हिथ्रो विमानस्थलको तेस्रो धावनमार्गको पुनः संशोधित प्रस्ताव दर्ता गर्‍यो । जसले पुरानै विवादलाई पुनर्जीवित गराएको छ ।

तर अर्थमन्त्री रिभ्सले हालै धावनमार्गमा सरकारको अनुमोदन रहेको बताएपछि यसको बहस थप चर्किएको  । विस्तारका समर्थकले तेस्रो रनवेले महत्त्वपूर्ण आर्थिक लाभ पुर्‍याउने, हजारौं रोजगारी सिर्जना गर्ने र बेलायतलाई एक प्रमुख अन्तर्राष्ट्रिय उड्डयन केन्द्रका रूपमा स्थापित गर्ने दाबी गर्छन् भने विरोधीहरूले वातावरणीय र सामाजिक असरबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

पर्यावरणसम्बन्धी संगठन ‘डब्लूडब्लूएफ’ ले पनि विमानस्थल विस्तारको निर्णयलाई गम्भीर गल्तीका रूपमा औंलाएको छ । ‘विमानस्थलको विस्तारजस्ता महँगा परियोजनाहरू बनाइरहनु गलत हो । यसैमा दशकौं समय लाग्छ, कार्बन उत्सर्जन बढाउँछ र वास्तविक आर्थिक वृद्धिलाई अवरुद्ध गर्छ,’ डब्लूडब्लूएफले भनेको छ । पछिल्लो निर्णयसँगै कार्बन उत्सर्जनको सीमा अर्थात् ‘कार्बन बजेट’ सम्बन्धी बेलायती कानुन पनि उल्लंघन हुन सक्छ । कार्बन बजेट भनेको कुनै निश्चित समय अवधिमा वातावरणमा उत्सर्जन गर्न सकिने अधिकतम सीमा हो ।

बेलायतले २००८ को जलवायु परिवर्तन ऐनअन्तर्गत कानुनी रूपमा बाध्यकारी कार्बन बजेट अपनाएको छ । हिथ्रोको तेस्रो धावनमार्ग बनाउँदा कार्बन उत्सर्जन बढ्छ, जसले बेलायतलाई आफ्नो कानुनी लक्ष्य पूरा गर्न कठिन हुन सक्छ । बेलायतले जलवायु परिवर्तन न्यूनीकरण गर्न २०५० सम्म ‘नेट जिरो’ उत्सर्जन गर्ने लक्ष्य लिएको छ । यसको अर्थ कानुन उत्सर्जन शून्यमा ल्याउनु वा जुन मात्रामा कार्बन उत्सर्जन हुन्छ त्यो बराबरको कार्बन वातावरणबाट हटाउनु हो । वातावरणविद्हरूले यसविरुद्ध मुद्दा हाल्ने तयारी गरिरहेका छन् । त्यसैले धावनमार्ग विस्तारको भविष्य भने अझै अन्योलमा छ ।

हिथ्रो बेलायतको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल हो । यहाँ हरेक ४५ सेकेन्डमा एउटा विमान अवतरण गर्न सक्छ । यो विश्वभरका यात्रुहरूका लागि प्रमुख ट्रान्जिट हब पनि हो । संसारकै सबैभन्दा ठूलो विमानस्थलमध्येको एक हिथ्रोले २०२४ मा मात्र ८ करोड ३० लाखभन्दा बढी यात्रुलाई सेवा दिएको थिय । विमानस्थलमा अधिकतम वार्षिक ४ लाख ८० उडान क्षमता छ । तर दुईवटा मात्र धावनमार्ग भएकाले हिथ्रो निकै व्यस्त छ । त्यसैले यसको तेस्रो धावनमार्गको विस्तारको दबाब बढेको हो । (एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?