काठमाडौँ। पूर्व युवराज्ञी हिमानी शाहको प्रत्यक्ष नेतृत्वमा सञ्चालित ‘हिमानी ट्रष्ट’ कोषले आफ्नो शाखा विस्तारको क्रममा बेलायतमा पनि च्याप्टर स्थापना भएको समाचार सार्वजनिक भएपछि आपत्ति जनाएको छ।
ट्रष्टले आफ्नो आधिकारिक फेसबुक टाइमलाइनमार्फत भनेको छ, “हिमानी ट्रष्टको नाममा विभिन्न अनधिकृत शाखाहरू खोलिएका छन्।” हिमानी ट्रष्टका मात्र कानूनी रूपमा मान्यता प्राप्त र आधिकारिक अनुमति प्राप्त शाखाहरू हिमानी ट्रष्ट अमेरिका र हिमानी ट्रष्ट अष्ट्रेलिया हुन्।ट्रष्टले भनेको छ, “अन्य कुनै पनि समूह वा व्यक्तिहरूले हिमानी ट्रष्टको आधिकारिक अनुमति बिना प्रतिनिधित्व गर्ने दावी गर्नेहरूले मान्यता नपाउने छन्।” हिमानी ट्रष्टको नाममा गरिएका गतिविधिहरूको जिम्मेवारी ट्रष्टले नलिने जनाइएको छ। ट्रष्टले औपचारिक जानकारीको लागि संस्थाको आधिकारिक निकायमा सम्पर्क गर्न आग्रह गरेको थियो।
यसअघि लन्डनमा भएको भेलाले हिमानी ट्रष्ट युकेको अध्यक्षमा हिराधन राई चयन भएको समाचार सार्वजनिक गरेको थियो। यसैगरी, वरिष्ठ उपाध्यक्षमा विनोद बराल, उपाध्यक्षमा बबिता लामा, महासचिवमा सुरज सुवेदी, र कोषाध्यक्षमा सत्य भट्टराई चयन भएका छन्।एमडीएफ निर्देशकमा रिना अधिकारी, सीआरएफ निर्देशकमा शशांक शर्मा, र बोर्ड अफ डाइरेक्टरमा वीरेन्द्र गुरुङ, प्रविन विक्रम थापा, अमन गुप्ता, गोपाल अधिकारी, बिना प्रधान, विवेक कोइराला र अमितव शाह चयन भएको दावी गरिएको थियो।नवीन गुरुङ, वाचस्पति रेग्मी, र सञ्जीव घिमिरे सल्लाहकार र निर्देशकमा शिव भण्डारी चयन भएको बताइएको छ।हिमानी ट्रष्ट एक परोपकारी संस्था हो, जसको स्थापना सेप्टेम्बर २०१० मा भएको हो।
यस संस्थाका प्रमुख संरक्षक पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह रहनुभएको छ भने संस्थाको नेतृत्व पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले गरिरहनुभएको छ। कुनै पनि राजनीतिक पूर्वाग्रहबाट अलग रहँदै, ट्रष्टले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला सशक्तिकरण, र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेको छ।हिमानी ट्रष्टले नेपालभरि ५३ भन्दा बढी जिल्लामा विभिन्न सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
बाढीपीडितहरूको लागि आश्रय गृह निर्माण, दुर्गम क्षेत्रका महिलाहरूका लागि प्रसूति केन्द्र स्थापन, भूकम्प प्रभावित विद्यालयहरूको पुनर्निर्माण, र ‘स्मार्ट गाउँ’ विकास जस्ता दीर्घकालीन योजनाहरू मार्फत ट्रष्टले समाजमा स्थायी परिवर्तन ल्याउने लक्ष्य लिएको छ।नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि हिमानी ट्रष्टको सेवा विस्तार भइरहेको छ। २०२० मा अष्ट्रेलिया र २०२१ मा अमेरिका शाखा स्थापना गर्दै ट्रष्टले नेपाली समुदायलाई एकीकृत गर्दै विश्वव्यापी सहयोग संजाल निर्माण गरेको छ।
प्रतिक्रिया