काठमाण्डौ। गैरआवासीय नेपाली संघ अन्तर्गतको एकता महाधिवेशन उच्चस्तरीय समितिको बैठकमा संयोजक शेष घले आफैं अनुपस्थित रहे।
आफैले बनाएको कार्यविधि अनुसार हरेक आइतबार बस्ने सो समितिको आइतबारको बैठकमा उनी सहभागी भएनन्।
उच्चस्तरीय समितिको एक सदस्यका अनुसार उनले संघका पूर्वअध्यक्ष देवमान हिराचनलाई आफ्नो जिम्मेवारी सुम्पेका थिए। स्रोतका अनुसार संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, डा. बद्री केसी र संस्थापक नेता रामप्रताप थापाले समेत सो समितिको बैठक छोडिसकेका छन्।
सर्वोच्च अदालतले सबै पक्षलाई समेटेर एकता महाधिवेशन गर्न दिएको आदेश उल्लङ्घन गर्दै एकलौटी रूपमा मे महिनामा अधिवेशन गर्ने घोषणा गरेपछि उनी विवादमा तानिएका छन्।
यसैबीच, नेकपा एमालेका महासचिव शंकर पोखरेलले घलेले आफ्नी श्रीमती जमुना घलेलाई अध्यक्ष बनाउन खोज्दा संस्थामा विवाद उत्पन्न भएको र उनका एकलौटी निर्णयहरू खारेज हुने विचार व्यक्त गरेका थिए। यस्तै संघका ४० भन्दा बढी देशका एनसीसी अध्यक्षहरूले घलेको विरोधमा परराष्ट्रमन्त्री आरजु देउवालाई पत्राचार गरेका थिए। उनीहरूले सर्वोच्च अदालतका दुवै फैसलालाई सम्मान गर्दै डा. बद्री केसीसँग छलफल गरेर एकताको महाधिवेशन गर्न आग्रह गरेका थिए।
प्रतिक्रिया