काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पाल्पा र रुपन्देहीका गरी चार कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । पाल्पाका बगनासकाली र तिनाउँ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन र सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्ने, बुटवल-गोरुसिंगे सडक स्तरोन्नोति शिलान्यास कार्यक्रम थियो । तर शुक्रबार बिहान उनी त्यस क्षेत्र जाने कार्यक्रम स्थगित भयो ।
प्रधानमन्त्री ओलीले शुक्रबार तय भएका यी सबै कार्यक्रम प्रधानमन्त्री निवास बालुटारबाट भर्चुअल माध्यमबाट उद्घाटन र शिलान्यास गरे । सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम माघ ८ मा तय भए पनि ओलीको व्यस्तताका कारण स्थगित गरी शुक्रबार सारिएको थियो ।
माघ ८ राति अबेरसम्म पार्टी सचिवालय बैठकमा व्यस्त रहेका थिए । त्यसको अर्को दिन माघ ९ गते बुधबार सशस्त्र प्रहरी दिवसमा प्रमुख अतिथि हुने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री ओलीलाई अलि सन्चो नभएकाले सशस्त्र प्रहरी दिवसमा उपस्थिथित हुन नसकेको जानकारी गराइएको थियो ।
बुधबारदेखि ओली बालुवाटार बाहिरका कार्यक्रममा सहभागी भएका छैनन् । प्रधानमन्त्रीको सचिवालयले मौसमी रुघाखोकीका कारण ओली भौतिक रूपमा कार्यक्रममा सहभागी हुन नसकेको जनाएको छ । चिकित्सकको सल्लाहअनुसार उनले भाइरल ज्वरोको औषधि खाइरहेको जानकारी दिएको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले ओलीको स्वास्थ्य सामान्य हुँदै गएको बताए ।‘प्रधानमन्त्रीज्यूलाई रुघाखोकीका कारण सामान्य ज्वरो आएको थियो । औषधि खाइरहनु भएको छ,’ उनले भने, ‘डाक्टरले अझै तीन-चार दिन आराम गर्न सल्लाह दिएका छन् ।’
प्रतिक्रिया