काठमाण्डौं । बेलायती नागरिकता लिएका लण्डनस्थित ह्यारोमा बसोबास गर्ने राजकुमार त्रिपाठीविरुद्ध नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा उजुरी परेको छ।
नेपाली जनसम्पर्क समिति बेलायतका सदस्य विनोद योन्जनले त्रिपाठीले नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागको सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै उजुरी दिएका छन्।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नाम परेको उजुरीमा त्रिपाठीको नियुक्ति नेपाली कांग्रेसले निर्धारित मापदण्ड र विधान विपरीत भएको उल्लेख गरिएको छ।
उजुरीमा नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा भएका नियुक्तिहरू केही निर्धारित मापदण्ड र विधान विपरीत भएको दावी गरिएको छ। त्रिपाठीले नेपाली कांग्रेसका नेता शेखर कोइरालाको दबाबमा सो पदमा नियुक्ति प्राप्त गरेको बताइन्छ। उनी बेलायती नागरिक हुन्।
नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेलले विदेशी नागरिकता लिएको व्यक्तिले पार्टीको विभागमा नियुक्ति लिनु नेपाली कांग्रेसको नियमवली विपरीत भएको बताए। उनले नेपाली जनसम्पर्क समिति विभाग गठन गर्दा आफूले पार्टीले दिएको निर्देशनअनुसार गरेको बताउँदै सबै विभागमा पार्टीको एउटै नीति लागू हुने बताए।
त्रिपाठीले बेलायती उद्योग तथा व्यापार मन्त्रीको सल्लाहकार भएको दावी गर्छन्। तर उनको नियुक्ति पुष्टि हुन सकेको छैन।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पठाइएको उजुरीमा पार्टीको नियम र विधानले विदेशी नागरिकता राख्ने व्यक्तिलाई पार्टीको विभागीय जिम्मेवारीमा नियुक्त गर्न निषेध गरेको उल्लेख छ।
उजुरीमा भनिएको छ, “हामी पार्टीका उच्च नेतृत्वको ध्यानाकर्षण गराउन चाहन्छौं कि उक्त नियुक्ति पार्टीको मूल सिद्धान्त र विधानसँग असंगत छ र यसले पार्टीको आन्तरिक एकता र विश्वासमा असर पार्न सक्छ। त्यसैले, यस नियुक्तिलाई पुनः समीक्षा गर्न र पार्टीको नीति अनुसार निर्णय लिन आग्रह गर्दछौं।”
यसअघि नेपाली जनसम्पर्क विभाग लगायतका विभागमा समेत विदेशी नागरिकता लिएका व्यक्तिहरूलाई समावेश गर्न पार्टीले अस्वीकार गरेको थियो।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले पार्टीका नियुक्तीमा दोहोरो मापदण्ड प्रयोग गर्नु न्यायपूर्ण नहुने बताए।
प्रतिक्रिया