नक्कली डाक्टर बनेर लुटपाट गरेपछि…

  नेपाली सन्देश डट कम | १२ पुष २०८१, शुक्रबार २०:१०

काठमाडौँ — जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर चिकित्सक नै लुटेरामा परिणत भएमा कस्तो होला ? यस्तै घटना ललितपुरमा घटेको छ ।

एक बिरामी नक्कली चिकित्सकको भरमा पर्दा उपचारको साटो लुटिएका छन् । केही दिनअघिको उक्त घटनाका आरोपीलाई पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले आज सार्वजनिक गरेपछि घटना विवरण सार्वजनिक भएको हो ।

नक्कली डाक्टर बनी लुटपाटमा संलग्न रहेको अभियोगमा महोत्तरी जलेश्वर नगरपालिका–२ हरिटोल ठेगाना भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो । उनको साथबाट रु ५९ हजार तीन सय ६० र मोबाइल तीन थान बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार पीडित व्यक्ति मधुमेहका रोगी थिए । उनी सामाजिक सञ्जाल फेसबुकमार्फत नक्कली डाक्टर मण्डलसँग साथी बने । मण्डलले आफू डाक्टर हुँ भनी भेटघाट एवं चिनजान गरी उपचार गर्ने भनेर पीडितका घरमा पुगेका थिए ।

उपचारका नाममा उनले बेहोस हुने औषधि खुवाई बिरामीलाई बेहोस पारेर कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहना र नगद रु तीन लाख चोरी गरेको प्रहरीले जनाएको छ । उनलाई आजै चोरीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको प्रहरीले जानकारी दिउएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?