रुपन्देही । लुम्बिनीको समग्र विकास, व्यवस्थापन तथा सम्पदा संरक्षणलाई प्रभावकारी बनाउने लक्ष्यसहित लुम्बिनी विकास कोषका नवनियुक्त पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डे र कोषाध्यक्ष रमेश शेखर बज्राचार्यले पदबहाली गर्दै कोषको कामलाई पारदर्शी, व्यवस्थित र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पदभार ग्रहणपछि आयोजित कार्यक्रममा पदाधिकारीहरूले सुशासन, पारदर्शिता, भ्रष्टाचाररहित प्रशासन तथा पर्यटकमैत्री वातावरण निर्माणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले आफू पद र प्रतिष्ठाभन्दा पनि सेवाभावले कोषमा आएको स्पष्ट पारिन् । उनले लुम्बिनीको विकाससँगै यहाँका स्थानीय बासिन्दा तथा सम्पूर्ण प्राणीको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
आफ्नो क्षमता र विवेकले भ्याएसम्म सहकर्मीहरूसँग समन्वय र सहकार्य गर्दै लुम्बिनीको हितमा काम गर्ने उल्लेख गर्दै उनले सबैको सहयोगबाट मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताइन् । विकास कोषमा पहिलोपटक चार जना भिक्षु सदस्यका रूपमा आउनु सकारात्मक पक्ष भएको चर्चा गर्दै उनले सामूहिक प्रयासबाट संस्थालाई थप प्रभावकारी बनाउने धारणा राखिन् ।
त्यसैगरी, नवनियुक्त सदस्य सचिव सन्तोष पाण्डेले कोषको पहिलो प्राथमिकता सुशासन, भ्रष्टाचाररहित प्रशासन र कार्यसम्पादनमा पारदर्शिता कायम गर्नु रहेको बताए । विशेषगरी दान, भेटी तथा सहयोगस्वरूप प्राप्त हुने रकमको पारदर्शी र व्यवस्थित परिचालनमा जोड दिइने उनको भनाइ थियो ।
पाण्डेका अनुसार लुम्बिनी क्षेत्रमा देखिएको ठोस फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्नु अर्को महत्वपूर्ण चुनौती हो । पर्यटक तथा तीर्थयात्रीले लुम्बिनीमा शान्ति, स्वच्छता र आध्यात्मिकताको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्यसहित काम अघि बढाइने उनले बताए ।
यसका साथै लुम्बिनीको पुरानो गुरुयोजना (मास्टर प्लान) लाई सम्पदा क्षेत्रको आवश्यकता र समयअनुकूल स्तरोन्नति गर्ने योजना रहेको उनले जानकारी दिए । लामो समयदेखि अधुरा रहेका तथा बाँकी विकास निर्माणका कामलाई तीव्रता दिई समयमै सम्पन्न गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
यसैबीच, नवनियुक्त पदाधिकारीहरूको पदबहाली कार्यक्रमका क्रममा लुम्बिनी विकास कोष परिसरको बाहिरी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । पदभार ग्रहण कार्यक्रम सञ्चालन भइरहँदा कोष परिसरबाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको थियो ।
नयाँ नेतृत्वले सुशासन, पारदर्शिता, सम्पदा संरक्षण, सरसफाइ र पर्यटकमैत्री व्यवस्थापनलाई प्राथमिकतामा राखेको सन्दर्भमा लुम्बिनीको दीर्घकालीन विकास र व्यवस्थापनमा आगामी दिनमा कस्तो प्रभाव पर्छ भन्ने चासो बढेको छ ।
प्रतिक्रिया