काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
काठमाडौं–सर्लाही रुटमा सञ्चालन हुँदै आएको मधेश प्रदेश ०३–००१ ब ०६८० नम्बरको सवारी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
सरकारले घाइतेहरूको उपचारलाई प्राथमिकतामा राख्दै सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिएको जनाएको छ।
‘उपचाररत घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकेको छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसक्नुभएको छ भने बाँकी तीन जनाको त्रिभुवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ’, विज्ञप्तीमा भनिएको छ।
त्यस्तै, दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। घाइतेहरूको उपचार खर्च व्यवस्थापनका लागि पनि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिँदै सरकारले दुर्घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया