चक्रघट्टा गाउँपालिकाद्वारा दुर्घटनाका मृतक परिवारलाई राहत दिने निर्णय

  नेपाली सन्देश डट कम | २८ कार्तिक २०८३, शुक्रबार ०९:१४

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकाले मकवानपुरमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका आफ्ना १३ जना स्थानीय नागरिकका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । साथै, मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले एक दिन सार्वजनिक शोक बिदासमेत दिएको छ ।

गाउँपालिकाले बिहीबार जारी गरेको शोक बिदासम्बन्धी सूचनाअनुसार बिहीबार बिहान मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित सिचापानी क्षेत्रमा भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जना यात्रुको दुःखद निधन भएको थियो ।

उक्त दुर्घटनामा आफ्ना गाउँपालिकाका नागरिकले ज्यान गुमाउनुपरेपछि गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै यस दुःखद घडीमा गाउँपालिका पीडित परिवारको साथमा रहेको बताएका छन् ।

गाउँपालिकाले मृतकका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहतस्वरूप आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । यस निर्णयअनुसार १३ परिवारलाई कुल ६ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ ।

त्यसैगरी, दुर्घटनामा ज्यान गुमाएका नागरिकहरूप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाभित्रका सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा एक दिनका लागि शोक बिदा दिने निर्णय गरिएको छ ।

दुर्घटनामा एकै गाउँपालिकाका १३ जना नागरिकको ज्यान गएपछि चक्रघट्टा गाउँपालिका शोकमा डुबेको छ । गाउँपालिकाले राहत सहयोगमार्फत पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया

Selected poll is not defined.