दक्षिणा सहकारीको समाचारप्रति आपत्ति (खण्डन)

  नेपाली सन्देश डट कम | २६ कार्तिक २०८३, बुधबार ०४:१३

काठमाडौँ। ‘दक्षिणा सहकारीमा मृतकको नाममा ऋण : नवीकरणदेखि बिमा रकम र धितो लिलामसम्म विवाद’ शीर्षकमा शनिबार प्रकाशित समाचारप्रति दक्षिणा सहकारी संस्था लिमिटेडले आपत्ति जनाएको छ।

संस्थाका अध्यक्षले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित संस्था र व्यक्तिसँग आवश्यक जानकारी तथा प्रतिक्रिया नलिई एकपक्षीय रूपमा समाचार सम्प्रेषण गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन्।

अध्यक्षका अनुसार समाचार प्रकाशन गर्नुअघि संस्थाको आधिकारिक धारणा बुझ्ने र सम्बन्धित व्यक्तिसँग तथ्य पुष्टि गर्ने प्रयास गरिएको भए वास्तविक अवस्था सार्वजनिक हुने तथा कसैमाथि अन्याय नहुने थियो।

उनले संस्थासँग सम्बन्धित विषयमा अदालतबाट भएका फैसला, पुनरावेदन तथा अन्तरिम आदेशलगायत न्यायिक प्रक्रियालाई समेत बेवास्ता गरेर समाचार प्रकाशन गरिएकोप्रति प्रश्न उठाएका छन्।

अध्यक्षले जिल्ला अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८०-CP-9675, पुनरावेदन नम्बर ०८१-DP-2309 र ०८१-WO-1394 तथा उच्च अदालतसँग सम्बन्धित ०८३-WO-0586 नम्बरको मुद्दामा भएको अन्तरिम आदेश र न्यायिक निर्णयको वैधानिकताबारे समेत बुझ्न आग्रह गरेका छन्।

‘जनताले दुःख गरेर जम्मा गरेको रकमसँग जोडिएको संवेदनशील विषयमा समाचार लेख्दा त्यसको सत्यता र वैधानिकता जाँच गर्नुपर्छ कि पर्दैन ? अदालतबाट भएका निर्णय र आदेशलाई नहेरी एकतर्फी रूपमा समाचार सम्प्रेषण गर्दा संस्थालाई पुग्ने क्षतिप्रति ध्यान दिइन्छ कि दिइँदैन ?’ अध्यक्षले प्रश्न गरेका छन्।

उनले सहकारी संस्थाको प्रतिष्ठा र बचतकर्ताको विश्वाससँग जोडिएको विषयमा समाचार सम्प्रेषण गर्दा थप जिम्मेवार र तथ्यपरक हुनुपर्ने बताएका छन्।

साथै, समाचारमा उल्लेख गरिएका विषयको वास्तविकता बुझ्न संस्थामा सम्पर्क गरी आधिकारिक धारणा लिनसमेत उनले आग्रह गरेका छन्। अध्यक्षले सम्बन्धित मुद्दाका निर्णय तथा थप विवरण समेटिएका कागजात अध्ययन गरेपछि प्रकाशित समाचार सच्याउने वा हटाउने विषयमा आवश्यक निर्णय लिन सञ्चारमाध्यमलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया

Selected poll is not defined.