काठमाडौं, सरकारले सुनचाँदी गहनामा लगाएको २ प्रतिशत विलासिता कर फिर्ता लिन माग गर्दै देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिको अगुवाइमा बिहीबार काठमाडौंको न्यूरोड क्षेत्रमा विरोध प्रदर्शन गरिएको छ।
व्यवसायीहरूले बजेटमार्फत सुनचाँदी गहनामा लगाइएको विलासिता करलाई अव्यवहारिक र अनावश्यक भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन्। प्रदर्शनको क्रममा ‘विलासिता कर खारेज गर सुनको भन्सार ६ प्रतिशत लागू गर स्पष्ट नीति नियमावली बनाऊ’, जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरिएका थिए।
संघर्ष समितिका अनुसार सरकारको पछिल्लो निर्णयले सुनचाँदी व्यवसाय धराशायी हुने खतरा बढेको छ। करको भार उपभोक्तामा पर्नुका साथै साना तथा मझौला व्यवसायीहरू मारमा पर्ने उनीहरूको दाबी छ।
यसैबीच, विरोध स्वरूप व्यवसायीहरूले देशभरका पसलहरूमा कालो व्यानर राखेका छन् भने कतिपय स्थानमा पसलहरू बन्द समेत गरिएका छन्। काठमाडौं उपत्यकाभित्र र बाहिर समेत व्यवसाय आंशिक रूपमा ठप्प पारिएको छ।
प्रदर्शनमा सहभागी व्यवसायीहरूले आजै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमार्फत सरकारले चाँडै मागहरू सम्बोधन नगरे आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका एक पदाधिकारीले भने, “हामी करको विरोधी होइनौं, तर व्यवसाय चल्ने गरी करको दर तोक्नुपर्छ। अहिलेको व्यवस्था असहज र व्यवसायघातक छ।”
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदी गहनालाई ‘विलासिता वस्तु’ मानेर २ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरेको थियो। तर व्यवसायीहरू भने यो निर्णय तत्काल फिर्ता लिनुपर्ने अडानमा अडिएका छन्।
अब आन्दोलन कस्तो स्वरूप लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित हुँदै गएको छ।
प्रतिक्रिया