आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति नदिइने

  नेपाली सन्देश डट कम | १९ जेष्ठ २०८२, सोमबार २१:५४

इलाम (फिक्कल) । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताउनुभएको छ ।

आज सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामअन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजनासम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रियामा मन्त्री यादवले खानेपानी जस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीजस्तो अत्यावश्यक चिजलाई ढिलासुस्ती गर्ने कार्य किमार्थ स्वीकार्य छैन । खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ ।”

तोकिएको समयमा योजना सम्पन्न नगर्ने गुनासो सुनिएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने जानकारी उहाँले गराउनुभयो । उहाँले भन्नुभयो, “कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म स्वयं यहाँ आएको छु । आज समस्या समाधान निकाल्नु पर्छ । कि ठेकेदारले काम गर्नुपर्छ, कि त ठेक्का रद्द गर्नुपर्छ ।”

उक्त कार्यक्रममा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, खानेपानी मन्त्रालयका सचिव इ प्रमिलादेवी शाक्य बज्राचार्य, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।

सरकारले आधारभूतस्तरको खानेपानी सेवा जनताको पहुँचमा पु-याउने उद्देश्यले आर्थिक वर्ष २०६८/६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना तर्जुमा गरेको थियो । सोही आयोजनाअन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजनास्थल सुर्योदय नगरपालिका–३, ६–८, १०–१४, इलाम नगरपालिका–१० र रोङ गाँउपालिका–३ मा निर्माण भइरहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामले जनाएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?