अफ्ठ्यारो परिस्थितिमा पनि सदस्यता वितरण उत्साहजनकः डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए (भिडियो सहित)

  नेपाली सन्देश डट कम | १८ जेष्ठ २०८२, आईतवार १९:१३

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले आउँदो जुलाई महिनामा हुने राष्ट्रिय समन्वय परिषद् (एनसीसी) निर्वाचन र अक्टोबरमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्को १२औँ महाधिवेशनलाई लक्षित गर्दै विश्वभर सदस्यता वितरण तीव्र गतिमा भइरहेको बताएका छन्।

उनका अनुसार हाल विश्वका अधिकांश देशहरूमा एनआरएनए सदस्यता वितरण सक्रिय रूपमा भइरहेको छ। सदस्यता नलिएका वा नवीकरण नगराएका नेपालीलाई डा. शर्माले ‘स्मार्ट एनआरएनए एप’ डाउनलोड गरी सदस्यता लिन वा नवीकरण गर्न आग्रह गरेका छन्।

“अफ्ठ्यारो परिस्थितिका बाबजुद पनि केही एनसीसीहरूले अघिल्ला वर्षहरूभन्दा बढी सदस्यता बनाउन सफल भएका छन्,” डा. शर्माले भने। उनका अनुसार जापानमा गत वर्ष ७१६८ सदस्य रहेकोमा हालसम्म ७४३२ सदस्यता प्रमाणिकरण भइसकेको छ। यसपटक एनसीसी जापानले अघिल्लो वर्षको तुलनामा दोब्बर संख्यामा सदस्य बनाउने लक्ष्य राखेको छ।

त्यस्तै, न्यूजील्याण्डमा पनि उल्लेखनीय वृद्धि भएको बताउँदै उनले भने, “एनसीसी न्यूजील्याण्डले यस पटक ९१२ सदस्य प्रमाणिकरण गरिसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो।” उनले अन्य देशहरूमा पनि सदस्य संख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

डा. शर्माले एनआरएनएलाई राजनीति, पैसा र शक्तिको चंगुलबाट मुक्त गर्दै संस्थामा व्यापक एकताको सन्देश फैलाउन सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

“संस्थाको आन्तरिक जीवनमा विवादहरू आउन सक्छन्, तर ती समयसँगै समाधान हुँदै जान्छन्,” उनले भने। हालको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सर्वोच्च अदालतबाट अक्टोबरसम्मका लागि वैधता पाएको हुँदा संस्थालाई निष्क्रिय बनाउने अवस्था नरहेको स्पष्ट पार्दै उनले विधानअनुसार सदस्यता वितरण नहुँदा संस्था शून्यमा जान सक्ने चेतावनीसमेत दिए।

संस्थाको अस्तित्व जोगाउन र एकताको वातावरण बनाउन ‘स्मार्ट एनआरएनए एप’मार्फत सदस्य बन्न उनले सबै गैरआवासीय नेपालीहरूलाई पुनः अनुरोध गरे। साथै, सदस्यता प्रक्रियासम्बन्धी भिडियो सन्देशसँगै संलग्न गरिएको जानकारी पनि उनले दिएका छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?