लुभेन, बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठको समूहले एनआरएनए बेल्जियममा फुटको तयारी गरिरहेको आरोप लागेको छ।
सोमबार लुभेनमा एनआरएनए बेल्जियमको आयोजनामा सम्पन्न सर्वपक्षीय भेलामा श्रेष्ठ समूहका वक्ताहरूले सदस्यहरूको व्यक्तिगत विवरण सुरक्षित राख्न संघको आधिकारिक मेम्बर इन्फरमेशन सर्भिस (एमआईएस) प्रणाली प्रयोग नगर्ने सुझाव दिए। उनीहरूले वैकल्पिक प्रणालीमा जानुपर्ने धारणा व्यक्त गरे।
भेलामा बोल्ने अधिकांश श्रेष्ठ समर्थकहरू—गंगाधार गौतम, प्रेम गुरुङ, सिता सापकोटा, सुवास गुरुङलगायतले एमआईएस प्रणालीको विरोध गरे। उनीहरूको भनाइमा माओवादी निकट लोक दाहाल र चित्र सुवेदीले समर्थन गरे तर उनीहरुले एनआरएनए बेल्जियमको एकतामा जोड दिए ।
संघका सल्लाहकार तीर्थ धमलाले राहदानी र ड्राइभिङ लाइसेन्सजस्ता संवेदनशील विवरण सुरक्षाका लागि एमआईएस अनिवार्य भएको बताए। “वैकल्पिक प्रणालीको नाम नै नखुलाइ एमआईएसको विकल्प खोज्नु गैरजिम्मेवार हो,” उनले भने।
उपाध्यक्ष लोकेन्द्र नेपाल, कार्यसमिति सदस्य सुरज खरेल र रविन बान्तोवाले पनि एमआईएस प्रणालीलाई केन्द्रीय सदस्यता व्यवस्थापनका लागि सबैभन्दा उपयुक्त माध्यम भने।
कार्यसमिति सदस्य रोशन गौतमले एमआईएस प्रणाली संघका पूर्वअध्यक्ष शेष घलेको परिकल्पना भएको स्मरण गराउँदै त्यसैलाई निरन्तरता दिनुपर्ने बताए। केन्द्रीय सदस्य हरि भट्टराईले वर्तमान सदस्यता वितरण प्रक्रिया एमआईएसमार्फत नै सञ्चालन भइरहेको प्रष्ट पारे।
महेश श्रेष्ठ अध्यक्ष बनेपछि एनआरएनए बेल्जियममा यसरी पहिलो पटक गम्भीर विवाद चर्किएको हो। यद्यपि, संघका ६० भन्दा बढी राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) ले पहिले नै एमआईएस प्रणालीमार्फत सदस्यता वितरण प्रक्रिया अघि बढाइसकेका छन्।
प्रतिक्रिया