एनआरएनएभित्र छिट्टै एकता हुन्छ : महेश श्रेष्ठ

  नेपाली सन्देश डट कम | १ जेष्ठ २०८२, बिहीबार २०:०३

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता अधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले अहिलेको नवनिर्वाचित पदाधिकारीको वैधानिकतामाथि प्रश्न उठाउने ठाउँ नै नरहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू निर्वाचित भएपछि एनआरएनएको पूर्ण एकताको प्रयास गरिरहेको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो दिएको अभिव्यक्तिले केही आशंका उत्पन्न गराएको उनले बताए।

‘प्रधानमन्त्रीज्यूको हिजोको अभिव्यक्तिबाट केही आशंका उब्जेको देखिन्छ। यसमा मलाई के लाग्छ भने प्रधानमन्त्रीज्यूमा गलत बुझाइ पनि हुनसक्छ,’उनले भने।

आफूहरू सरकारको विकास साझेदार हुन चाहेको पनि उनले बताए।

अध्यक्ष श्रेष्ठले आफूहरू नेपालको विकासका लागि छोटो अवधिको योजना, मध्यम अवधिको लगानी र लामो अवधिको योजना बनाएर काम गर्न चाहेको उनले बताए।

अहिले एनआरएनएको बद्री केसी समूह एकता महाधिवेशनबाट बाहिर रहेको बताउँदै उनले सबैलाई समेट्ने प्रयास भने भइरहेको बताए।

उनले एकताको लागि बद्री केसी र पूर्वअध्यक्षहरूसँग पनि कुराकानी भइरहेको र उनीहरू पनि एकता हुनुपर्छ भन्ने पक्षमै रहेको बताए।

‘बद्री केसीजीहरू यसबाट छुट्टिनुभएको छ। अहिलेको महाधिवेशनमा उहाँहरू आउनुभएन। तर पनि हाम्रो उद्देश्य सबैलाई समेट्ने भन्ने नै छ। हामी सबैलाई समेटेर लिएर जान चाहन्छौं। यस विषयमा कुराकानी पनि भइरहेको छ। बद्री केसी, पूर्व अध्यक्षज्यूहरूसँग पनि कुराकानी भइरहेको छ। सबै एक भएर लाग्नुपर्छ भन्ने चाहना सबैको छ। यसमा विशेष गरेर प्रधानमन्त्रीले पनि सकारात्मक रूपमा लिइदिनुभए धेरै राम्रो हुन्थ्यो। हिजोको उहाँ (प्रधानमन्त्री) को अभिव्यक्तिले एकतालाई सहयोग नपुर्याउन पनि सक्छ,’ उनले भने।

त्यस्तै, एनआरएनएका महासचिव बाबुराम लामा (बि.आर) ले सर्वोच्च अदालतको परमादेशबाट एकता महाधिवेशन भएर आफूहरू निर्वाचित भएकाले यसको वैधानिकतामाथि प्रश्न उठाउने ठाउँ नै नरहेको बताए।

‘एकता अधिवेशन मे ३ र ४ तारेखमा भयो। त्यो अधिवेशन भनेको सर्वोच्च अदालतको परमादेशले सम्पन्न भएको एकताको अधिवेशन थियो। सर्वोच्च अदालतभन्दा माथि कोही पनि हुनसक्दैन,’ उनले भने।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?