काठमाडौं । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली (एनआरएन) ले आयोजना गर्ने एनआरएन ग्लोबल कन्क्लेभ २०२५ मा आज प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । प्रधानमन्त्रीको सहभागिताले यही एनआरएनलाई सरकारले आधिकारिक मान्ने संकेत गरेको छ ।
यसअघि गत साता शेष घलेले आयोजना गरेको ‘एकता सम्मेलन’ मा परराष्ट्रमन्त्री डा. आरजु राणा सहभागी भएकी थिइन् । उक्त सम्मेलनले महेश श्रेष्ठ नेतृत्वमा अर्को कार्यसमिति बनाएको छ । यो कार्यसमितिले अहिलेसम्म वैधता पाउन भने सकिरहेको छैन ।
महेश श्रेष्ठ कांग्रेस निकट हुन् भने बद्री केसी एमाले निकट ।
सत्तारुढ दुई दलनिकटका दुई एनआरएन अस्तित्वमा आएपछि यसले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच नै असमझदारीको स्थिति देखिएको छ । शेष घलेले गराएको सम्मेलनमा परराष्ट्रमन्त्री सहभागी भएकोप्रति ओली सन्तुष्ट थिएनन् ।
बद्री केसी नेतृत्वको एनआरएनले आजबाट गर्ने कार्यक्रममा प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवैलाई निम्ता गरिएको छ । प्रधानमन्त्रीले कार्यक्रमको उद्घाटन गर्ने एनआरएनका उपाध्यक्ष विनोद श्रेष्ठले बताए । परराष्ट्रमन्त्रीले भने निधो नदिएको उनको भनाइ छ ।
एनआरएनको टोली अस्ति परराष्ट्रमन्त्रीलाई निमन्त्रण गर्न गएको थियो । कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दा राणाले स्पष्ट जवाफ दिइनन् । उनले मिलेसम्म आउने बताइन् । राणाले भनिन्, ‘सगरमाथा संवादका लागि अलिकति व्यस्त छु । मिलेसम्म आउँछु ।’
‘एनआरएनको अधिकार राष्ट्र समृद्धिको आधार’ भन्ने मूल विषयमा केन्द्रित रहेर ‘एनआरएन ग्लोबल कन्क्लेभ’ २०२५ होटल याक एन्ड यतिमा आज केहीबेरमा सुरु हुँदैछ ।
बद्री केसी २ वर्ष एनआरएन सम्मेलनबाट निर्वाचित भएका थिए । महेश श्रेष्ठ भने पराजित भएका थिए ।
प्रतिक्रिया