काठमाडौं । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा नेपाली विद्यार्थीको मृत्युप्रति राष्ट्रियसभाका सदस्यहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन्। शनिबार बसेको राष्ट्रियसभाको बैठकको आकस्मिक समयमा विभिन्न दलका सांसदहरुले एकपछि अर्को गर्दै नेपाली छात्राहरुको शंकास्पद मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसदहरुले केआइआइटीमा अध्ययनका लागि अबदेखि नेपाली विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नदिइनु पर्ने र हाल एनओसी दिइरहेको भए पनि तत्काल रोक्नु पर्ने माग गरेका छन्।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले तुरुन्तै सो कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए। उनका अनुसार, लगातार विद्यार्थी मृत्यु भएको घटनाले सुरक्षा प्रत्याभूति नदिएको स्पष्ट हुन्छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले पनि केआइआइटीमा विद्यार्थी असुरक्षित भएको भन्दै अभिभावकहरुलाई समेत सचेत रहन आग्रह गरिन्। उनले एनओसी दिनु विद्यार्थीलाई जोखिममा धकेल्नु जस्तै भएको टिप्पणी गरिन्।
जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले पनि क्रमशः विद्यार्थी मृत्युबारे गहिरो छानबिन गरिनुपर्ने, दोषी उपर कारबाही हुनुपर्ने र सरकारले त्यसमा निरन्तर पहल गर्नुपर्ने धारणा व्यक्त गरे।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की गङ्गाकुमारी बेल्वासे र नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुमित्रा विसीले समेत घटनाको गम्भीर छानबिन गरि दोषीलाई कारबाही गर्न जोड दिए।
सांसदहरुले सरकारसँग समन्वय गरी विद्यार्थीको सुरक्षाको सुनिश्चितता नभएसम्म उक्त संस्थामा विद्यार्थी पठाउन बन्द गर्न र भविष्यमा यस्ता घटनाबाट नेपाली विद्यार्थीलाई जोगाउने स्पष्ट नीतिगत व्यवस्था गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया