एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो भन्छन्– मेमा एकता महाधिवेशन हुनै सक्दैन
गैरआवासीय नेपाली संघ (एनआएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले मेमा एकताको महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन्।
सोमबार राति विज्ञप्ति जारी गर्दै एनआरएनएका संस्थापक अध्यक्ष महतोले एनआरएनए अभियानलाई नै विचलन पार्ने गरी घेषणा गरिएको महाधिवेशनमा आफ्नो कुनै संलग्नता नहुने स्पष्ट पारेका छन्।
उनले आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैमा अपिल गरेका छन्।
‘गैरआवासीय नेपाली संघ संस्थामात्र होइन, अभियान पनि हो। यसर्थ, यस अभियानलाई विचलित पार्ने गरी मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले त्यस महाधिवेशनमा मेरो कुनै पनि संलग्नता र सहभागिता नरहने स्पष्ट पार्दछु,’ महतोले भनेका छन्।
उच्चस्तरीय समितिका संयोजक शेष घलेले मे ३ देखि ५ सम्म महाधिवेशन गर्न लागेको सन्दर्भमा महतोको यस्तो धारणा आएको हो।
यसअघी पूर्वअध्यक्ष जीवा लामिछानेले पनि मेमा एकताको महाधिवेशन हुन नसक्ने सपष्ट पारिसकेका छन्।
जुलाइमा राष्ट्रिय समन्वय परिषद (एनसिसी) को अधिवेशन गरेर अगष्टमा महाधिवेशन गर्न सकिने प्रस्ताव समेत आफूले यसअघि राखेको महतोले विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘संस्थाको विधानअनुसार आगामी जुलाइमा सबै राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न गरी त्यसबाट आएका प्रतिनिधिहरूद्धारा सन् २०२५ को अगष्टको पहिलो हप्तामा औपचारिक, वैधानिक र वास्तविक एकताको महाधिवेशन गरौं। वैधानिक र कानूनी हिसाबले त्यो सम्भव थियो। विद्यमान जटिल परिस्थितिको निकासकालागि उक्त प्रस्ताव जरूरी थियो,’ महतोले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको निर्णयको मर्मअनुरुप वास्तविक एकताको महाधिवेशनको सम्भावना हुँदाहुँदै पनि केही व्यक्तिको हठ र गलत बुझाईको कारण त्यो सम्भव हुन सकेन।’
घले नेतृत्वको उच्चस्तरीय समितिले मेमा गर्न लागेको महाधिवेशन रोक्नको लागि अन्तरिम आदेश माग गरेर एनआरएनए अध्यक्ष बद्री केसीले सर्वोच्च अदालकमा रिट दायर गरेका छन्।
घले नेतृत्वको समितिमा सदस्य रहेका एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, संस्थापक राम थापा, पुर्व अध्यक्षहरू जिवा लामिछाने, भवन भट्ट, कुमार पन्त र वर्तमान अध्यक्ष बद्री केसी मेमा अधिवेशन हुनै नसक्ने बताउँदै आएका छन्।
प्रतिक्रिया