काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच आज बार्ता हुने भएको छ ।
शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा बिहान ७ः३० बजेबाट वार्ता सुरू हुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग शनिवार बिहान वार्ता गर्न लागिएको जानकारी दिएका हुन् ।
पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेकोसमेत उल्लेख गरेको छ ।
हिजो दिउँसो ३ः०० बजे हुने भनिएको बार्ता अन्तिम समयमा आएर भाँडिएको थियो । आन्दोलनरत शिक्षक महासंघलाई नसोधी सिंहदरबार गेटमा २५ जनाको नाम मन्त्रालयले पठाएको भन्दै शिक्षकहरू बार्ता नगरी फर्किएका थिए ।
मन्त्रालय आफैँले शिक्षकहरूको बार्ता टोली बनाएर सिंहदरबार प्रवेशको अनुमति दिएको भन्दै आक्रोशित शिक्षकहरू सिंहदरबार गेटबाट फर्किए पछि हिजो हुने भनिएको बार्ता भाँडिन पुगेको थियो ।
तर, शिक्षक महासंघले पठाउने आधिकारिक टोलीसँग मन्त्रालयले बार्ता गर्न तयार भए पछि आज बिहान बार्ता हुन लागेको हो ।
प्रतिक्रिया