मुस्ताङस्थित छोसेरको गुफा पर्यटकका रोजाइमा

  नेपाली सन्देश डट कम | ६ बैशाख २०८२, शनिबार ०६:१५

मुस्ताङ । जोमसोम–ऐतिहाँसिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले मात्र होइन पृथक प्रकारको भूबनोट कारण उपल्लो मुस्ताङ पर्यटक आर्कषणका लागि निकै महत्वपूर्ण मानिन्छ । उपल्लो मुस्ताङमा सदियौँ वर्ष पुराना तिब्बती कलासंस्कृति, रहनसहन भेषभूषाका साथै त्यहाँको पृथक प्रकारको भूगोलले उपल्लो मुस्ताङ भ्रमण गर्ने जोकोही पर्यटकका लागि पनि मोहित नतुल्याउने कुरै भएन ।

उपल्लो मुस्ताङको हरियाली बिनाको ग्रीन लेस सुख्खा पठार भूगोलको बीचमा त्यहाँको राताम्मे कलात्मक पहाड निकै आर्कषण देखिन्छनन् । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा यस्तै राताम्मे कलात्मक पहाड अवस्थित छन् । जहाँ सदियाँै वर्षपहिले यसप्रकारका कलात्मक पहाडलाई खोपेर तयार गरिएका दर्जनौँ मानव निर्मित गुफा छन् । यस्ता गुफामा त्यसबेलाका मानिसले घामपानी र शत्रुसँग सुरक्षित रहनका लागि ओतलाग्ने आश्रय बनाएर बसेको प्रष्ट झल्किन्छ । उपल्लो मुस्ताङमा अवस्थित दर्जनौँ यसप्रकारका मानव निर्मित गुफामध्येको मुख्य एक हो लोमान्थाङ–१ छोसेरमा अवस्थित सिजा झोङ गुफा । एक दशक अघि गुमनाम जस्तै रहेको छोसेरको मानव निर्मित सिजा झोङ गुफाको अहिले पर्यटकीय दृष्ट्रिकोणले चर्चा निकै हुने गरेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ बजारदेखि उत्तर करिव सात किमी र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको कोरलानाकादेखि दक्षिण÷पश्चिम १४ किमी यता जोमसोम–कोरला सडकको नजिकै अवस्थित पर्छ । जोमसोम–कोरला सडकमार्ग अन्तर्गत छोसेरस्थित नेचुङ भन्सार कार्यालयबाट पश्चिमतर्फ मोडिएमा केहीबेरको यात्रा तय गरेपछि गुफा भएको स्थानमा पुग्न सकिन्छ । सडकमार्गबाटै प्रष्टसँग देखिने गुफा रहेको पहाडलाई रातो रङले लेपनलगाएको जस्तै देखिन्छ । पछिल्लो समय कोरलानाका अवलोकन गरी फर्किएका पर्यटक छोसेरको सिजा झोङ गुफा अवलोकन गर्न छुटाउँदैनन् । उपल्लो मुस्ताङ भ्रमणका लागि पुगेका विदेशी पर्यटकसमेतले गुफाको अवलोकन गरेर फर्किन गरेको पाइएको छ ।

समून्द्री सतहको तीन हजार ७९५ मिटरको उचाइमा चारैतीर हरियाली बिनाको नाङ्गो पहाडको भित्ता यो गुफा अवस्थित छ । झन्डै १५५ फिट अग्लो पाँच तले गुफाभित्र ४० वटा कोठा छन् । गुफाको ससर्ती अवलोकन गर्दै एक वास्तविक मूर्तीकारको उत्कृष्ट कृतिको रूपमा निर्माण गरिएको अनुभुत हुन्छ । गुफाभित्रका कोठा पुरै एकआपसमा जोडिएको छ । गुफाभित्रको उपल्लो तल्ला उक्लिन काठको सिँढी राखिएको छ । गुफाभित्र पस्दा सुरुङमार्ग जस्तै दखिन्छ । गुफाको कोठाभित्र पस्दा र माथिल्लो तला उक्लिन टाँउको झुकाउनुपर्छ । गुफाको माथिल्ला तलाको बाहिरी भागमा छिद्रछिद्र प्वाल देख्न सकिन्छ । गुफाभित्र प्रवेश गरिसकेर त्यहाँको छिद्र प्वालबाट टाउँको बाहिर निकालेर अवलोकन गर्दा छोसेर गाउँलगायत त्यस आसपासको प्राकृतिक भूगोल निकै मनमोहक देखिन्छ ।

विशाल पहाडलाई घरेलु हतियारले खोपेर सदियाँै वर्ष पहिले गुफा निर्माण गरिएको भएपनि गुफाको वास्तविक तथ्य अझै बाहिर आउन सकेको छैन । स्थानीयबासी र जानकारका यस मानवनिर्मित गुफालाई सत्रुसँग बच्नका लागि बनाइएको हो भन्ने भनाइ छ ।

छोसेरको सदियौँ वर्ष पुरानो मानव निर्मित गुफा निकै पुरानो प्राचिन गुफा हो । गुफाको भुइतलाबाट पाँच तला माथिसम्म चाहार्ने हो भने त्यहा अवलोकन गर्ने पर्यटकलाई करिव दुई घण्टाभन्दा बढी बेसी समय लाग्ने बताइएको छ । गुफाभित्र बत्ति बाल्ने ठाउँ र सामग्री भण्डारणलगायत विभिन्न कलासंस्कृति र ऐतिहासिक सामग्री अवलोकन गर्न सकिने छ । मानव सभ्यता झल्काउने गुफाभित्र त्यसबेला मानिस बसोबास गथ्र्ये भन्ने तथ्यलाई पुष्टि गर्दछ ।

लोमान्थाङ गाउँपालिकाको छोसेरमा अवस्थित प्राचिन मानव निर्मित गुफा प्रवेश गर्न पर्यटकको सहजताका लागि काठका भ¥याङ राखिएका छन् । बेनी–जोमसोम–कोरला राजमार्ग निर्माणधिन सडक सहज बन्दै जान थालेपछि पछिल्लो समय गुफा अवलोकन गर्नेको सङ्ख्यासमेतमा वृद्धि भइरहेको छ ।

लोमान्थाङ–१ का वडाध्यक्ष पेमाआङ्गेल गुरुङले लोमान्थाङ गाउँपालिकाको लागि छोसेरमा अवस्थित महत्वपूर्ण पर्यटकीय गन्तब्यको रूपमा विकास भइरहको जानकारी दिए । निकै अनौठो र राताम्मे पहाडभित्र रहेको कोठैकोठा भएका यसप्रकारका गुफालाई संरक्षण, संम्वरद्धन, प्रवर्द्धन गर्नुपर्ने वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।

ऐतिहाँसिक, धार्मिक र सांस्कृतिक महत्वको छोसेरको गुफा अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक उपस्थिती बढ्दै गइरहेको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?