काठमाडौं । नेपालको भ्रमणमा रहेका भारत सरकारका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेका छन्।
बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) अन्तर्गत कृषिमन्त्रीहरुको बैठकमा सहभागी हुन नेपाल आएका मन्त्री चौहानले प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको दीर्घकालीन सम्बन्ध, कृषि विकास, खाद्य सुरक्षा र आर्थिक सहकार्यका विषयमा विचारविमर्श गरेका थिए।
भेटवार्तामा मन्त्री चौहानले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा पारस्परिक सम्बन्धको चर्चा गर्दै दुवै मुलुकले आधुनिक कृषि प्रणाली, खाद्य सुरक्षाको मजबुतीकरण र ग्रामीण आर्थिक विकासका लागि सहकार्य आवश्यक रहेको बताए। साथै, उनले द्विपक्षीय सम्झौता तथा संयुक्त कार्यदलहरूलाई तिव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिँदै, साना विवाद र अल्झनलाई छाडेर दीर्घकालीन तथा महत्वपूर्ण विषयमा सक्रियताका साथ काम गर्न भारत तयार रहेको स्पष्ट पारे।
मन्त्री चौहानले हालै थाइल्याण्डको बैंककमा सम्पन्न प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तालाई उल्लेख गर्दै यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने आशा व्यक्त गरे।
प्रधानमन्त्री ओलीले पनि कृषि क्षेत्रलाई मानव जीवनको मेरुदण्डका रूपमा व्याख्या गर्दै यसको आधुनिकीकरण र उद्यमशीलता प्रवर्द्धनको माध्यमबाट दुवै देशले आर्थिक समृद्धिमा सहकार्य गर्नुपर्ने विचार व्यक्त गरे।
उनले भारतका प्रधानमन्त्री मोदीसँग थाइल्याण्डमा सम्पन्न भेटले दुई देशबीच विश्वासको वातावरण निर्माण भएको उल्लेख गर्दै अब विगतको इतिहास र भावना भन्दा माथि उठेर विकासको यात्रामा अघि बढ्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले बदलिँदो विश्व परिप्रेक्ष्यलाई आत्मसात् गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्वार्थमा साझा प्रयास गर्नुपर्नेमा जोड दिए।
भेटका अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार डा. विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवलगायत अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया